काठमाडौँ — सार्वजनिक ओहदाको परिचय लुकाएर आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थली नगर विकास समितिका अस्थायी नायब सुब्बा टिकाप्रसाद भट्टसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नासु भट्टसहित सघन सहरी तथा भवन निर्माण आयोजनाका तत्कालीन कार्यालय प्रमुखहरु अमरबहादुर थापा, नारायणप्रसाद भण्डारी, सुरेशकुमार वाग्ले, लेखा प्रमुखहरु यमलाल बेल्वासे र सुरेशप्रसाद दाहालविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । प्रतिवादीहरुविरुद्ध अख्तियारले १ करोड १५ लाख ४ हजार १११ रुपैया बिगो कायम गरी कैद र जरिवाना मागदाबीसहित मुद्दा दायर गरेको हो ।
सार्वजनिक पदमा रहेकै बेला भट्टले आफ्नो परिचय लुकाएर कान्तिपुर दैनिकको रामेछाप संवाददाता भएर समेत काम गरेका थिए । उनी विरुद्ध गुनासो आएपछि कान्तिपुर पब्लिकेसन्सले डेढ वर्षअघि नै उनलाई हटाइसकेको छ । भट्ट २०४९ साउन १ देखि अस्थायी खरिदार पदमा सेवा प्रवेश गरेका थिए । त्यसपछि कर्मचारीहरुकै मिलेमतोमा उनको अनिश्चितकालीन म्याद थप गराएर जागिर लम्ब्याएको समेत अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
२०७० माघ १ मा अस्थायी खरिदार पदबाट नायब सुब्बामा उनको बढुवा भएको थियो । 'अस्थायी कर्मचारीले स्थायी कर्मचारीसरह गैरकानुनी तवरबाट ग्रेड सुविधा लिएको, अनिश्चितकालीन म्याद थप साथै बढुवासमेत भएको देखिन्छ । निज प्रतिवादी भट्टले बढुवा प्राप्त गर्न दिएको निवेदन, निजको शैक्षिक योग्यता र कार्य सम्पादनको स्तरलाई हेरि बढुवा गर्ने राय पेस गरेकोमा बढुवाको निम्ति खटिएको कार्यदलले सोको कुनै प्रक्रिया पूरा गरेको देखिँदैन,' अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोग पत्रमा भनिएको छ ।
मन्थली नगर विकास समितिमा कार्यरत भट्टले कार्यालय समयबाहेक अतिरिक्त समयमा अन्य कुनै पेशा तथा व्यवसाय गर्न अनुमति प्रदान गरेको अभिलेखमा नरहेको खुलेको छ । सरकारी पदबाहेक एकै समयमा विभिन्न कार्यालयमा काम गरी कार्यालय प्रमुख तथा लेखा प्रमुखहरूलाई समेत प्रभाव, दबावमा पारी पत्रकारको हैसियतमा काज/भ्रमण तथा बैठकमा खटिई भत्ता बापतको रकम समेत लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
यो बीचमै मन्थली बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्ष, मिडाड नेपाल नामक विज्ञापन एजेन्सीको साईट मेनेजर/स्थानीय प्रतिनिधि बनेर विज्ञापन प्रकाशन गरी आफैंले कमिशन बापतको रकम बुझेको, कार्यालय प्रमुख र लेखा प्रमुखहरूलाई अनुचित प्रभावमा पारी कमिसन लिएको, सिटिजन्स लाईफ ईन्स्योरेन्सको एजेन्टका रुपमा भत्ता तथा अन्य सुविधा लिएकोलगायत अभियोग लगाइएको छ । यो अवधिमा उनले पदको दुरुपयोग गरी १ करोड १५ लाख ४ हजार १११ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै त्यसैलाई बिगो कायम गरेर अख्तियारले मुद्दा दायर गरेको हो ।
यस्तै तत्कालीन कार्यालय प्रमुखहरु थापाविरुद्ध ३ लाख ३९ हजार २८५ र अर्का कार्यालय प्रमुख भण्डारीविरुद्ध २ लाख ७ हजार ७७५, वाग्लेविरुद्ध ३ लाख ९५ हजार ४२०, लेखा प्रमुख बेल्वासेविरुद्ध ५ लाख ९२ हजार ४६० र दाहालविरुद्ध ४ लाख ७९ हजार ५५० रुपैयाँ बिगोबमोजिम कैद र जरिवाना मागदाबी गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
