'महिला नेतृत्वलाई पछाडि धकेल्ने प्रवृत्ति अझै कायमै छ'
विराटनगर — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला नेतृत्वलाई पछाडि धकेल्ने प्रवृत्ति अझै कायमै रहेको बताएकी छन् । गठबन्धन राजनीतिले महिला नेतृत्वको अवसरलाई अझ खुम्च्याइरहेको उनको भनाइ थियो ।
शुक्रबार विराटनगरमा सुरु स्थानीय तह उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले राजनीतिक दलहरूले लोकतान्त्रिक मूल्य र समावेशिता जोगाउन महिला नेतृत्वलाई मजबुत रूपमा अघि बढाउनुपर्नेमा जोड दिइन् । ‘गठबन्धन हुँदा प्राथमिक नेतृत्वका सिट पाउन महिलालाई सकस छ । यसले महिलाको सक्रियता र हैसियतमा असर परेको छ,’ उनले भनिन् ।
भण्डारीले स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिको भूमिका अझ प्रभावकारी बनाउन नीतिगत तथा कार्यगत पहल आवश्यक रहेको औंल्याइन् । उनले विकास र आर्थिक समृद्धिमा महिलाको दृष्टिकोण र संवेदनशीलता अत्यन्त महत्वपूर्ण हुने बताउँदै समन्वयकारी नेतृत्वको आवश्यकतामा जोड दिइन् ।
कार्यक्रमपछि पत्रकारसँग कुराकानी गर्दै भण्डारीले आफू सक्रिय राजनीतिमा रहेको बताइन् । पार्टी नेतृत्वको सम्भावित भूमिकाबारे सोधिएको प्रश्नमा उनले भनिन्, ‘समय आएपछि थाहा भइहाल्छ नि ।’
