काठमाडौं उपत्यकाका नदी स्वच्छ बनाउन ३ अर्ब ४२ करोड बजेट

जेष्ठ २३, २०८२

रासस

3.42 billion budget to clean the rivers of Kathmandu Valley

काठमाडौँ — उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यकाका नदी स्वच्छ बनाउन र करिडोर सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिएको बताएका छन् ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले आज गोकर्णेश्वर–५ बागमती करिडोरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले सहरी विकास मन्त्रालयले बागमतीसहित उपत्यकाका नदी स्वच्छ बनाउन ३ अर्ब ४२ करोड विनियोजन गरेको बताए ।

मन्त्री सिंहले वातावरण संरक्षण गर्ने जिम्मेवारी सबैको साझा दायित्व भएको उल्लेख गर्दै वातावरण संरक्षणमा सबैको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।

बागमतीलाई सफा र स्वच्छ बगाउन आफूले मन्त्रालय सम्हालेको दिनबाटै चासो दिएको भन्दै उनले बागमतीसहित उपत्यकाका विष्णुमती, धोबीखोलालगायत सबै नदीलाई ढलमुक्त बनाउने गरी काम भइरहेको बताए ।

सहरी विकास मन्त्रालयमार्फत ४० करोडभन्दा बढी योजना गोकर्णेश्वर नगरपालिकाका लागि विनियोजन भएको उल्लेख गर्दै नगरप्रमुख दीपक रिसालले उपप्रधानमन्त्री सिंहलाई धन्यवाद दिए ।

रासस

Link copied successfully