काठमाडौँ — भिजिट भिसा प्रकरणको छानबिन गर्नका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्नेमा रास्वपाले अडान राखेको छ । कांग्रेसले संसद् खोल्नका लागि रास्वपा नेताहरूसँग छलफल गरेको थियो, तर सहमति जुटेन ।
संसद् भवनमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका तर्फबाट उपसभापति स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए ।
बैठकमा अख्तियारको छानबिन र अभियोजनसम्म कुर्न कांग्रेसले प्रस्ताव राखेको थियो । 'अहिले अख्तियारले अनुसन्धान गरिरहेको छ, त्यसको निष्कर्ष निस्किँदासम्म कुरौँ भन्ने उहाँहरूको प्रस्ताव थियो । हामीले हुँदैन भन्दै राजीनामा दिनुपर्ने कुरा राख्यौं,' रास्वपा प्रमुख सचेतक परियारले भने ।
अख्तियारले छानबिन गरी मुद्दा दर्ता गर्दासम्म संसद् अवरोध नगर्न र त्यसपछि छानबिन समिति गठन गर्ने कुरा कांग्रेसले रास्वपा समक्ष राखेको थियो । कांग्रेसको उक्त प्रस्तावमा प्रमुख प्रतिपक्षी दल माओवादी भने सकारात्मक बनिसकेको छ ।
