पुटिनसँग कुराकानीपछि सचेत रहन युक्रेनलाई ट्रम्पको आग्रह

जेष्ठ २२, २०८२

कान्तिपुर संवाददाता

Trump urges Ukraine to be careful after talks with Putin

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई आगामी आक्रमणलाई लिएर सचेत रहन आग्रह गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानीपछि उनले युक्रेनमा रुसले ठूलो आक्रमण गर्नसक्ने भन्दै सचेत रहन आग्रह गरेका हुन् । 

ट्रम्पसँगको कुराकानीमा पुटिनले रुसी एयरबेसमा युक्रेनले गरेको ड्रोन आक्रमणको बदलामा जवाफ दिने बताएका छन् । पुटिनसँग फोनमा भएको कुराकानीबारे ट्रम्पले भने, ‘राष्ट्रपति पुटिनले निकै दृढताका साथ भनेका छन्,–हवाई अड्डामा हालै भएको आक्रमणको जवाफ रुसले दिनेछ ।’

छिट्टै रुसले युक्रेनविरुद्ध उक्त ड्रोन आक्रमणको बदला लिनसक्ने ट्रम्पले बताएका छन् । रुसी अधिकारीहरुले बुधबार राति यो कुराकानीको पुष्टि गर्न अस्वीकार गरेका छन् । तर प्रतिक्रियाका लागि सैन्य विकल्पमाथि चर्चा भइरहेको बताएका थिए । 

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट लेख्दै एक घण्टाभन्दा बढी समय भएको फोन वार्ताबाट तत्काल रुस र युक्रेनबीच शान्ति स्थापना हुने सम्भावना नरहेको उल्लेख गरेका छन् ।  

कान्तिपुर

Link copied successfully