बर्खा आयो, सरकार आएन : बीपी राजमार्गको बिजोग उस्तै

बाढीपहिरोले आठ महिनाअघि क्षति गरेको राजमार्ग पुनर्निर्माणको ठेक्का प्रक्रिया बल्ल चल्दै, पुनर्निर्माण बर्खा सकिएपछि मात्र

जेष्ठ २२, २०८२

राजकुमार कार्की, विमल खतिवडा

The rains came, the government did not come: the problem of BP highway is the same

नेपालथोक, सिन्धुली — मनसुन भित्रिएसँगै बीपी राजमार्ग भएर आउजाउ गर्ने यात्रु र सवारी चालकको चिन्ता सुरु भइसकेको छ । जुनसुकै बेला बाढीपहिरो आएर सडक सम्पर्क नै टुट्ने जोखिम एकातिर छँदै छ, अर्कातिर यात्रा गर्दागर्दै आफैं बाढीपहिरोमा परिने हो कि भन्ने डर पनि छ ।

 बाढीपहिराले गत असोजमा चौकीडाँडा–बर्खेखोला खण्डको करिब १२ किमि सडकमा क्षति पुर्‍याएको थियो । त्यसपछि राजमार्गलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याउनै दुई साता लाग्यो । थप मर्मतपछि धुलाम्य/हिलाम्य सडकमा जसोतसो यातायात सञ्चालन हुँदै आएको छ । पक्की सडक पुनर्निर्माणको सुरसारमा सरकार बल्ल लागेको छ । यात्रुले भने यसपालि बर्खायामभर नै डरैडरमा बीपी राजमार्गको यात्रा गर्नुपर्ने भएको छ ।

राजमार्गमा बढी समस्या काभ्रेको चौकीडाँडामा छ । बाढी र पहिरोले सडक भत्किएपछि त्यसैको मुन्तिर अस्थायी सडक बनाएर सवारीसाधन सञ्चालन गरिएको छ । तर पूर्वबाट काठमाडौं आउने सवारी यस खण्डमा उकालो चढ्दा चिप्लिने गरेका छन् । 

मंगलबार मात्र काँकडभिट्टाबाट भुइँकटहर लिएर काठमाडौं आउँदै गरेको भारतीय नम्बरप्लेटको पिकअप भ्यान पल्टिएको थियो । भ्यानका चालक निरोन सरकारको टाउकामा सामान्य चोट लागेको भकुन्डेबेसी प्रहरी चौकीका असई रोहित हुमागाईंले बताए । ‘म यहाँको चौकीमा आएको चार महिनामा चार वटा सवारीसाधन उकालो चढ्दा पल्टिसकेका छन् । तर सडकको ग्रेड मिलाइएको छैन ।’

The rains came, the government did not come: the problem of BP highway is the same

भक्तपुर डिभिजन सडक कार्यालयका इन्जिनियर दुर्गाप्रसादले भने चौकीडाँडा उकालोको ग्रेड सुधारको काम भइरहेको सुनाए । ‘बाढीपहिरोपछि खोलाको बगरबाट सवारीसाधन चलाइएको थियो । अहिले खोलाभन्दा माथि कच्ची सडक बनाइएको छ, सामान्य वर्षासम्म धान्छ,’ उनले भने, ‘तर गएको असोजको जस्तै बाढी आए भन्न सकिँदैन ।’

उनले बर्खायाममा यातायात अवरुद्ध भइहाले सञ्चालनमा तत्काल ल्याउने गरी ४५ वटा उपकरण तम्तयार अवस्थामा राखिएको जानकारी दिए । सडक डिभिजन भक्तपुरअन्तर्गत बीपी राजमार्गको २३ किमि पर्छ ।

बीपी राजमार्ग जापान सरकारको सहयोगमा निर्माण भएकाले बाढीपहिरोले क्षति पुर्‍याएपछि पनि नेपाल सरकारले पुनर्निर्माणमा पनि जापानकै सहयोगको अपेक्षा राखेको थियो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सडक पुनर्निर्माणमा सकारात्मक प्रतिक्रिया जनाएको थियो ।

‘जाइकाले सबै नबनाउने कुरा भएपछि हामी आफैंले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन थाल्यौं, डिजाइनको काम गरायौं,’ सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले भने, ‘कात्तिकमै सडक विभागसँग बजेट माग्यौं । विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्र पठायो, भौतिकले अर्थ मन्त्रालय पठायो, तर बजेट तत्काल पाइएन ।’

सडक डिभिजन प्रमुख योगेशका अनुसार गत ६ फागुनमा बीपी राजमार्ग पुनर्निर्माणका लागि बजेट टुंगो लाग्यो । सिन्धुली खण्डका लागि १ अर्ब र काभ्रे खण्डका लागि साढे ७ अर्ब रुपैयाँ बजेट विनियोजन भएपछि ठेक्का प्रक्रिया अघि बढाइएको थियो । बाढीपहिरोले ठाउँ–ठाउँमा गरी करिब १२ किलोमिटर भत्काए पनि २८ किलोमिटर पुनर्निर्माण गर्नुपर्नेछ । 

The rains came, the government did not come: the problem of BP highway is the same

डालाबेसीदेखि चारसय बेसीसम्मको ८.५ किमि खण्ड पुनर्निर्माणका लागि खानी–कमलजित–एवान जेभीसँग दुई साताभित्रै ठेक्का सम्झौता हुँदै छ । यसको ठेक्का रकम १ अर्ब ४२ करोड रुपैयाँ छ । ३.२ किलोमिटरको डालाबेसी–बर्खेखोला खण्डमा जाइकाले काम गर्ने सहमति भएको छ । चारसय बेसी–भकुन्डेबेसी ११ किमि र नेपालथोक–बर्खेखोला ५ किमि खण्ड ठेक्का प्रक्रियामा छन् । तत्काल ठेक्का सम्झौता भइहाले पनि यसपालिको बर्खायाममा पुनर्निर्माण कार्य नहुने सडक डिभिजनले जनाएको छ । 

सिन्धुली–काठमाडौं माइक्रोबस चलाउने दीपेन्द्र कार्कीले आठ महिनाअघि बाढीपहिरोपछि बीपी राजमार्गको यात्रा अवधि लम्बिएको बताए । ‘बाटो सहज हुँदा म सिन्धुलीबाट चार घण्टामै काठमाडौं पुग्थें, अहिले ६ घण्टाभन्दा बढी लाग्छ,’ उनले भने, ‘ठाउँ–ठाउँमा ट्राफिक जाम हुन्छ । पानी पर्‍यो भने त चिप्लो र हिलाम्य सडकमा गाडी चलाउनै सकिँदैन ।’ उनले एक पटक १७ घण्टासम्म जाममा फस्नुपरेको सुनाए ।

सडक डिभिजन, खाल्टे सिन्धुलीका प्रमुख पारसमणि हमालले बर्खेखोलादेखि नेपालथोकसम्मको खण्डमा बर्खालाई समेत ध्यान दिँदै सडक सुधार गरिएको बताए । ‘जहाँ बाढीले सडक बगायो, त्यहाँ माटो, गिट्टी, गेग्य्रान राखेर पहिलाकै अवस्थामा ल्याइसकेका छौं, ठूल्ठूला ढुंगा राखेर बर्खाका लागि सडक तयार पारेका छौं,’ उनले भने, ‘सानो बाढीले त्यस्तो ढुंगा बगाउन सक्दैन । सिन्धुली खण्डमा धेरै समस्या छैन ।’ बाढी आउँदाका लागि उपकरणहरू तयारी अवस्थामा राखिएको उनले सुनाए । ‘असोजको जस्तो बाढी आए त अहिले बनाएको संरचनाले धान्न सक्दैन,’ उनले भने । 

गत असोजको बाढीपहिरोपछि राजमार्ग आसपासका होटल–रेस्टुरेन्ट व्यवसाय पनि प्रभावित छन् । सिन्धुलीको मुल्कोटमा मात्र दुई दर्जनभन्दा बढी होटल–रेस्टुरेन्ट र घर बाढीमा परेका थिए । तीमध्ये कुनै मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइएका छन् ।

The rains came, the government did not come: the problem of BP highway is the same

क्वालिटी बिच रिसोर्टका धेरैजस्तो संरचना भुइँतलामा भएकाले बाढीले बढी नोक्सान गरेको रिसोर्टका सञ्चालक एवं म्यानेजमेन्ट इन्चार्ज राजेश श्रेष्ठले बताए । ‘रिसोर्टलाई जसोतसो पहिलाकै अवस्थामा ल्यायौं तर ८ महिना बित्दा पनि बाटो राम्रो बनेन । खराब बाटोले गर्दा रिसोर्टमा सेवाग्राही कमै आउँछन्,’ उनले भने । 

यात्रा सहज नभएपछि बीपी राजमार्ग चल्ने सवारीसाधनको संख्या नै घटेको छ । सडक डिभिजन भक्तपुरका अनुसार पहिले बीपी राजमार्ग भएर दिनमा सात हजार हाराहारी साना–ठूला सवारीसाधन ओहोरदोहोर गर्थे । अहिले यो संख्या घटेर ४ हजारमा झरेको छ ।

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully