पूर्वप्रधानमन्त्री नेपालको सांसद पद निलम्बन

जेष्ठ २२, २०८२

मातृका दाहाल

Ex-Prime Minister of Nepal suspended from MP post

काठमाडौँ — पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको सांसद पद स्वत: निलम्बन भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी सांसद पदबाट निलम्बित भएका हुन्। नेपाल २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रौतहट-१ बाट विजयी भएका थिए । 

भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सार्वजनिक पद धारण गरेका कर्मचारी, पदाधिकारी मुद्दाको किनारा नलागेसम्म  स्वत: निलम्बन हुने व्यवस्था छ । पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहितलाई प्रतिवादी बनाएर दायर गरिएको भ्रष्टाचार मुद्दामा १८ करोड ७० लाख रुपैयाँ बिगो कायम गरिएको छ ।

पूर्वप्रधानमन्त्री नेपाल, तत्कालीन भूमि सुधार मन्त्रालयका सचिव छविराज पन्त तथा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी, नेपालका प्रमुख शालिग्राम सिंहसहितलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मातृका दाहाल दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully