काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीकै निर्देशनमा आफूविरुद्ध मुद्दा दर्ता भएको बताएका छन् । पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपालले प्रतिक्रिया दिँदै ओली सुरुदेखि नै आफूविरुद्ध लागेको बताएका हुन् ।
'उहाँ मेरोविरुद्धमा सुरुदेखि नै लाग्नुभएको हो । मेरो राजनीतिक करियर समाप्त पार्ने उहाँको नियत नै हो । पहिले पनि यस्तै किसिमले पटक-पटक कोसिस गर्नुभएकै हो । उहाँ बदलाको भावनाबाट चल्नु भएको छ,' रौतहटमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भने ।
पतञ्जली प्रकरणमा आफूले कुनै बदमासी नगरेको समेत नेपालको दाबी छ । 'कसले के लुपहोल राखे होलान्, मलाई त्यसबारे जानकारी भएन। पतञ्जलीजस्तो संस्थामा त्यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ,' उनले भने । आफूले मुद्दाबारे जानकारी लिने र कानुन व्यवसायीसँग परामर्श गर्ने पनि नेपालले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित जग्गा हिनामिना प्रकरणका प्रतिवादीहरूविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । पतञ्जलीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिन तत्कालीन प्रधानमन्त्री नेपालले नै निर्देशन दिएका थिए।
२०६६ सालमा भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको थियो ।
