नेपालमाथि भ्रष्टाचार मुद्दा लगाउनु राजनीतिक प्रतिशोध र षड्यन्त्र : नेकपा एस

जेष्ठ २२, २०८२

कान्तिपुर संवाददाता

Filing a corruption case against Nepal is political revenge and conspiracy: CPN S

काठमाडौँ — नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा लगाउनु राजनीतिक प्रतिशोध र षड्यन्त्र भएको निष्कर्ष निकालेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालमाथि मुद्दा लगाएपछि बसेको सचिवालय बैठकले राजीतिक प्रतिशोध र षड्यन्त्र भएको भन्दै राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

‘अध्यक्षमाथि मुद्दा लगाउनु राजनीतिक प्रतिशोध लिँदै षडयन्त्रमूलक प्रहार भएको निष्कर्ष छ,’ उपाध्यक्ष प्रकाश ज्वालाले भने, ‘हामी यसलाई राजनीतिक रुपमा प्रतिवाद गर्छौं ।’

पदाधिकारी बैठकले नेपालविरुद्ध अख्तियारमा मुद्दा दर्ता भइसकेकाले तथ्य प्रमाण जुटाएर कानुनी रुपमा अघि बढ्ने निर्णय गरेको छ । नेकपा एसले मन्त्रिपरिषद्ले गरेका नीतिगत निर्णय हालसम्म अख्तियारले नहेरेको उल्लेख गर्दै नेपालमाथि मुद्दा लगाउनुमा सरकारको छाया अख्तियारमा परेको दाबी गरेको छ । 

‘सरकारको छाया अख्तियारमा परेको हुनाले यसमा राजनीतिक प्रतिशोध र षड्यन्त्र छ,’ ज्वालाले भने ।

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष नेपालसहितलाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कान्तिपुर

Link copied successfully