काठमाडौँ — स्विट्जरल्यान्डको जेनेभामा जारी ‘विपद् जोखिम न्यूनिकरणका लागि विश्वव्यापी प्लेटफर्म’ सम्मेलनमा नेपाल सरकारका गृहसचिव गोकर्णमणी दुवाडीले नेपालको वर्तमान अवस्था र प्रयासबारे जानकारी गराएका छन् । उनले जलवायु परिवर्तन तथा प्रकोप न्यूनिकरणका लागि वित्तीय प्रवाह बढाउने विषयमा विपद् जोखिमको पूर्वतयारी र त्यसको कार्यान्वयनका लागि नेपालको स्थितिको बारेमा जानकारी गराएका थिए ।
उनले नेपालमा विभिन्न प्राकृतिक जोखिम रहेको उल्लेख गर्दै यसको पूर्वतयारी र समाधानका लागि नेपाल सरकारले उच्च प्राथमिकताका साथ आफ्नो प्रयास र कार्यलाई निरन्तरता दिएको बताए । यसका साथै विपद् जोखिम न्यूनिकरणका लागि विश्वव्यापी समन्वयको जरुरी रहेको समेत दुवाडीले जोड दिएका थिए ।
सम्मेलनमा विश्वभरिका विपद् व्यवस्थापन र विपद् जोखिम न्यूनिकरणका विविध विषयमा छलफल तथा सम्बन्धित मुलुकको असल अभ्यासलाई प्रस्तुत गरिएको छ । विश्वमा विपद् व्यवस्थापनका लागि चलेका असल अभ्यास र एकअर्कामा गर्नुपर्ने सहयोगका विषयमा समेत यस प्रकारका सम्मेलन फलदायी हुने विश्वास गरिएको छ । यसअघि सम्मेलनलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् जोखिम न्यूनीकरणमा समुदायस्तरका स्वयंसेवक र सूचकको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताएका थिए ।
जून २ देखि सुरु भएको यो सम्मेलन भोलि जून ६ मा सकिनेछ ।
