अमेरिकी सरकारले पछिल्लो पटक आफ्ना दूतावासहरूलाई विद्यार्थी भिसाका लागि अन्तर्वार्ताको समय नदिन आदेश दिएको छ, समय पाएका विद्यार्थीको अन्तर्वार्ता नरोकिए पनि नयाँ विद्यार्थीलाई समय दिन रोकिएको छ
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा कडाइ गरेपछि नेपाली विद्यार्थीमा अन्योल देखिएको छ । उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाने तयारीमा रहेका नेपाली विद्यार्थीमा अन्योल देखिएको हो ।
अमेरिका नेपाली विद्यार्थीको रोजाइमा पर्ने उत्कृष्ट ५ मुलुकमध्ये एक हो । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार पछिल्ला वर्षमा अमेरिकासहित जापान, क्यानडा, अस्ट्रेलिया, दक्षिण कोरिया र बेलायतमा विद्यार्थीको आकर्षण बढी छ । ट्रम्प प्रशासनले गैरआवासीय नागरिकलाई मात्र होइन, विद्यार्थी भिसामा पनि कडाइ गर्ने निर्णय गरेको छ ।
अमेरिकी सरकारले पछिल्लो पटक आफ्ना दूतावासहरूलाई विद्यार्थी भिसाका लागि अन्तर्वार्ताको समय नदिन आदेश दिएको छ । समय पाएका विद्यार्थीको अन्तर्वार्ता नरोकिए पनि नयाँ विद्यार्थीलाई समय दिन रोकिएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले कूटनीतिक नियोगहरूलाई जारी गरेको सूचनामा थप निर्देशन नआएसम्म विद्यार्थी भिसाका लागि अन्तर्वार्ताको समय नदिन आदेश छ । अन्तर्वार्ताको समय दिइसकेको हकमा भने निरन्तरता दिन सक्ने भनिएको छ । अमेरिका पढ्न जाने विद्यार्थीलाई सम्बन्धित मुलुकको दूतावासले भिसा स्वीकृतिका लागि अन्तर्वार्ता सञ्चालन गर्ने अभ्यास हुँदै आएको छ ।
अमेरिकी विदेश मन्त्रालयको आदेशपछि नेपाली विद्यार्थीले अमेरिका जाने योजना रद्द गर्दै अन्य मुलुकलाई गन्तव्य बनाउने वा नेपालमै उच्च शिक्षा पढ्ने योजना बनाउन थालेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का पूर्वअध्यक्ष विष्णुहरि पाण्डेको भनाइ छ । ‘यो नेपालका विश्वविद्यालय र कलेजलाई मौका पनि हो,’ उनले भने ।
गैरआवासीय नगारिकलाई कडाइ गरेदेखि नै नेपाली विद्यार्थीले अन्तर्वार्ताका लागि समय पाए पनि कतिपय सहभागी नभएको पाण्डे बताउँछन् । ‘भिसा कडाइले अहिले अमेरिका जान चाहनेको संख्या शून्यप्रायः नै छ । ट्रम्प नेतृत्वमा आएदेखि नै विद्यार्थी हच्किएका थिए,’ उनले भने, ‘अहिले त अन्तर्वार्ताको मिति नै रोकिएको छ ।’
आईटी, इन्जिनियरिङका विभिन्न विधा र रिसर्च सेन्टरमा पढ्न विदेश जाने नेपाली विद्यार्थीको संख्या उच्च छ । चालु आर्थिक वर्षमा अमेरिकाका लागि ८ हजार विद्यार्थीले वैदेशिक अनुमति पत्र एनओसी लिएको शिक्षा मन्त्रालयको तथ्यांक छ । २०८०/८१ मा १२ हजार, २०७९/८० मा साढे ६ हजार, २०७८/७९ मा ८ हजार विद्यार्थीले एनओसी लिएका थिए ।
शिक्षा मन्त्रालय उच्च शिक्षा महाशाखाका सहसचिव वैकुण्ठ अर्यालले अहिले विद्यार्थी भर्नाका बेला नभएले खासै प्रभाव नदेखिए पनि आगामी दिनमा असर पर्न सक्ने बताए । कक्षा १२ को नतिजा प्रकाशित भएपछि भदौदेखि मंसिरसम्म एनओसी लिने विद्यार्थीको चाप बढी हुने गर्छ । ‘प्रक्रिया पूरा गरेर आवेदन आएको एनओसी जारी भइरहेको छ । अमेरिकाका लागि जापान, कोरियाजस्तो अत्यधिक चाप पनि होइन,’ उनले भने, ‘अहिले भर्नाको बेलाको सिजन पनि नभएकाले ठूलो प्रभाव देखिएको छैन ।’
कक्षा १२ को परीक्षा सकेर अमेरिका जाने तयारीमा जुटेका विद्यार्थीमा भने सबैभन्दा अन्योल देखिएको कन्सल्टेन्सी सञ्चालकहरू बताउँछन् । टोफल, आईईएलटीएस, पीटीईलगायत कक्षा लिएर विद्यार्थी अमेरिका जाने तयारी गर्छन् । तयारी गरे पनि आवेदन नै दिन नपाइने हो कि भन्ने अनिश्चितता देखिएको परामर्शदाताहरूको भनाइ छ ।
इक्यानका अध्यक्ष शेषराज भट्टराईले तत्काल असर नदेखिए पनि अमेरिका जाने तयारीमा रहेका सयौं विद्यार्थी समस्यामा पर्ने बताए । ‘अमेरिका पढ्न जाने विद्यार्थी, अभिभावक अन्योलग्रस्त छन्,’ उनले भने, ‘छात्रवृत्तिमा जाने विद्यार्थीले पनि भिसा पाएका छैनन् । पैसा तिरेर अमेरिका पढ्न जाने उच्च वर्गदेखि छात्रवृत्तिमा पढ्न जाने निम्न वर्गको आर्थिक अवस्था रहेका विद्यार्थीमा समेत संकट आउने देखिएको छ ।’
अमेरिका गन्तव्य बनाउने लक्ष्य लिएका केही विद्यार्थीले विकल्प खोज्ने र अधिकांश होल्ड हुने सम्भावना रहेको उनले औंल्याए । ‘यथास्थितिमा अवस्था रहँदैन भन्ने हाम्रो र विद्यार्थीको पनि विश्वास छ । अमेरिका गन्तव्य सोचेका विद्यार्थी नेपालमा नै भर्ना भएर केही समय प्रतीक्षा गर्छन् ।, अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना नलिई त्यहाँका विश्वविद्यालयहरू कति समय टिक्छन् होला र ?’ भट्टराईले भने ।
अमेरिका अध्ययनमा जान कन्सल्टेन्सीबाहेक विश्वविद्यालय र कलेजमा सोझै आवेदन दिएर जाने विद्यार्थीको संख्यासमेत उल्लेखनीय छ । सन् २०२३/२४ मा अमेरिकाका शिक्षण संस्थामा भर्ना हुने विदेशी विद्यार्थीमध्ये नेपाली २ प्रतिशत हाराहारी रहेको अनुमान छ । चालु आर्थिक वर्षको हालसम्म करिब १ लाखभन्दा बढी, गत आवमा १ लाख १२ हजार, २०७९/८० मा १ लाख १० हजार विद्यार्थीले अमेरिकासहित विदेश पढ्न जान एनओसी लिएका थिए ।
अमेरिकाको विदेशी विद्यार्थी नीतिले संसारभरका विद्यार्थी अनिश्चियमा परेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय विदेशी विद्यार्थीसम्बन्धी तथ्यांक राख्ने संस्था ओपर डोअर्सले अमेरिकामा २ सय १० देशका विद्यार्थी त्यहाँका विश्वविद्यालय, कलेजलगायत शिक्षण संस्थामा अध्ययन गर्ने जनाएको छ । तथ्यांकअनुसार सन् २०२३/२४ मा ११ लाख विदेशी विद्यार्थी भर्ना भएका थिए ।
छिमेकी भारत र चीनबाट सबैभन्दा बढी विद्यार्थी पढ्न अमेरिका जाने गरेका छन् । भारतका ३ लाख ३० हजार र चीनका २ लाख ८० हजार छात्रछात्रा अध्ययनरत रहेको ओपर डोअर्सको आँकडा छ । दक्षिण कोरिया, क्यानडा, ताइवान, भियतनाम, नाइजेरिया, बंगलादेश, ब्राजिल र नेपाललगायत मुलुकका धेरै विद्यार्थी अमेरिका पढ्न जानेमा पर्छन् ।
चीनका विद्यार्थीका विषयमा अमेरिकी सरकार झन् आक्रमक रूपमा प्रस्तुत भएको छ । अमेरिकी विदेशमन्त्री रुबियोले चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध भएका वा महत्त्वपूर्ण विधामा पढिरहेका त्यहाँका विद्यार्थीको भिसा रद्द गरिने घोषणासमेत गरेका थिए । उनको भनाइमा चीन र हङकङका विद्यार्थीको भिसा आवेदनलाई थप निगरानी गरिने उल्लेख छ ।
यसअघि राष्ट्रपति ट्रम्पले प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना लिनबाट रोक्ने कदम चालेका थिए । यहुदी विरोधी गतिविधि रोक्न उक्त विश्वविद्यालय र क्याम्पसहरूले पर्यार्प्त काम नगरेको ट्रम्पको आरोप थियो । विदेशी विद्यार्थीको भिसामा कडाइलाई पनि अमेरिकामा रहेका संसारकै उत्कृष्ट मानिने हार्वर्डलगायत शैक्षिक संस्थाविरुद्ध थालेको कारबाहीकै एउटा पाटो ठानिएको छ ।
यद्यपि विद्यार्थी भर्ना रोक्ने ट्रम्पको कदमलाई अमेरिकाको अदालतले उल्टाइदिएको छ । वेस्ट भर्जिनिया तथा पिट्सवर्ग विश्वविद्यालयका प्रोफेसर इमेरिटस विलियम ब्रस्टिनले ट्रम्प प्रशासनको अन्तर्राष्ट्रिय विद्यार्थीसम्बन्धी निर्णयले अमेरिकालाई समेत गम्भीर प्रभाव पर्ने बताएका छन् । ‘हार्वर्ड त कठिन भएर पनि चल्ला । तर चिन्ताचाहिँ हाम्रा सार्वजनिक विश्वविद्यालयहरूबारे छ, जो विदेशी विद्यार्थीले तिर्ने ट्युसन तथा अन्य शुल्कमा अत्यधिक निर्भर छन् । विदेशी विद्यार्थीले ल्याउने विविधतापूर्ण दृष्टिकोणमा मुख्य असर पुग्नेछ ।’
विद्यार्थी भिसामा कडाइ कहिलेसम्म हुन्छ, यकिन छैन
भानुभक्त न्यौपानेउपप्राध्यापक, रसायनशास्त्र त्रिभुवन विश्वविद्यालय
अमेरिकाले विद्यार्थी भिसामा कडाइ गर्दा नेपाली विद्यार्थीलाई कस्तो असर पर्छ ?
पीएचडी अध्ययन गर्न जाने र छात्रवृत्तिमा जाने विद्यार्थीलाई खासै ठूलो असर पर्ने देखिँदैन । तर यस विषयमा अमेरिकी सरकारको स्पष्ट नीति, निर्णय आएको छैन । कडाइ कति समय लागू हुन्छ भन्ने पनि यकिन छैन । यो अवस्था लामो समय रहे गम्भीर स्थिति पनि आउन सक्छ । निर्णय परिपक्व नभएकाले ठ्याक्कै भन्न सकिँदैन । यद्यपि पीएचडीभन्दा तल्लो तहमा पढ्न जाने विद्यार्थीका लागि भन्ने पक्कै अप्ठ्यारो पर्नेछ । यसले छोटो समय मात्रै प्रभाव पर्न नि सक्छ । यो अवस्था लम्बिएर गयो भने नेपाल मात्रै होइन, संसारभरकै विद्यार्थीलाई समस्या पार्छ ।
छात्रवृत्तिमा पढ्न जाने विद्यार्थीसमेत रोकिन थालेका छन् नि ?
छात्रवृत्तिका विद्यार्थीलाई बजेट कति कटौती हुन्छ भन्नेमा निर्भर रहन्छ । अहिले भिसा नीतिले अवरोध पुगेको हुन सक्छ । दीर्घकालीन रूपमा छात्रवृत्ति कति कटौती हुन्छ । त्यो निर्णय भएको छैन । शिक्षामा छुट्याउने बजेट, लगानीसँग पनि यो कुरा निर्भर रहन्छ । अमेरिका ठूलो अर्थतन्त्र भएको देश हो । कतिपय विश्वविद्यालयहरू विदेशी विद्यार्थीबाट लिने शुल्कमा नै भर परेका हुन्छन् । तिनीहरू ठूलो संकटमा पर्ने कारण पनि अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गर्ने विषय लामो समय टिक्न सक्छ जस्तो लाग्दैन ।
उच्च शिक्षाका लागि अमेरिका जाने तयारीमा रहेका विद्यार्थीलाई के सुझाव छ ?
पढ्न विदेश नै जाने सोच बनाएका विद्यार्थीले अन्य मुलुकमा पनि विकल्प हेर्न सक्छन् । अमेरिका नै जानुपर्छ भन्ने केही छैन । अहिले पनि भिसामा पूर्णतया रोक लगाएको होइन । कडाइ गर्ने नीति मात्र हो । विद्यार्थीले विदेश मात्र भन्नु पनि हुँदैन । नेपालमा पनि सम्भावना छ । यहाँका विश्वविद्यालय र कलेजमा पनि अवसरहरू प्रशस्त छन् । अन्य देशका प्रतिष्ठित विश्वविद्यालयमा पनि अवसरहरू छन् ।
उच्च शिक्षाका लागि नेपाली विद्यार्थीले अमेरिका नै राज्नुपर्ने कारण के हुन् ?
विश्व वरीयताक्रममा अमेरिकी विश्वविद्यालयहरू अग्रस्थानमा छन् । पहिलेदेखि नै नेपालीहरू पढ्न जानेआउने अभ्यास पनि हुँदै आएको छ । यसले पनि सहयोग गर्छ । अमेरिकाको डिग्रीले विश्वव्यापी मान्यता प्राप्त गर्ने भएकाले पनि आकर्षण देखिन्छ । धेरै देशका मान्छेसँग भेटघाट र घुलमिल हुने अवसर पनि पाइन्छ । समाज पनि खुला छ । घुलमिल भएको समुदाय पनि विद्यार्थीमैत्री छ । विदेशी विद्यार्थीका लागि त्यहाँ राम्रो वातावरण छ । सम्मान नै गर्छन् ।
भाषाको हिसाबले पनि नेपाली पछि हामीलाई अंग्रेजी नै सजिलो लाग्छ । अंग्रेजीप्रतिको मोहले पनि काम गरेको छ । विज्ञान, प्रविधि, नवप्रवर्तन, आईटी क्षेत्रको पर्ढा पनि गुणस्तरीय छ । पहिले त्यही नै अमेरिकाको पढाइप्रति ठूलो विश्वास रहँदै आएको छ ।
(न्यौपानेले अमेरिकाको कन्सास स्टेट विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन्)
