अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा कडाइ गरेपछि नेपाली विद्यार्थीमा अन्योल देखिएको छ । उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाने तयारीमा रहेका नेपाली विद्यार्थीमा अन्योल देखिएको हो । अमेरिका नेपाली विद्यार्थीको रोजाइमा पर्ने उत्कृष्ट ५ मुलुकमध्ये एक हो । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार पछिल्ला वर्षमा अमेरिकासहित जापान, क्यानडा, अस्ट्रेलिया, दक्षिण कोरिया र बेलायतमा विद्यार्थीको आकर्षण बढी छ ।
विद्यार्थी भिसामा कडाइ गर्ने नीति, त्यसले नेपाली विद्यार्थीमा पार्ने असर लगायत विषयमा केन्द्रीत रहेर त्रिभुवन विश्वविद्यालयमा रसायनशास्त्रका उपप्राध्यापक भानुभक्त न्यौपानेसँग गरिएको संवाद :
अमेरिकाले विद्यार्थी भिसामा कडाइ गर्दा नेपाली विद्यार्थीलाई कस्तो असर पर्छ ?
पीएचडी अध्ययन गर्न जाने र छात्रवृत्तिमा जाने विद्यार्थीलाई खासै ठूलो असर पर्ने देखिँदैन । तर यस विषयमा अमेरिकी सरकारको स्पष्ट नीति, निर्णय आएको छैन । कडाइ कति समय लागू हुन्छ भन्ने पनि यकिन छैन । यो अवस्था लामो समय रहे गम्भीर स्थिति पनि आउन सक्छ । निर्णय परिपक्व नभएकाले ठ्याक्कै भन्न सकिँदैन । यद्यपि पीएचडीभन्दा तल्लो तहमा पढ्न जाने विद्यार्थीका लागि भन्ने पक्कै अप्ठ्यारो पर्नेछ । यसले छोटो समय मात्रै प्रभाव पर्न नि सक्छ । यो अवस्था लम्बिएर गयो भने नेपाल मात्रै होइन, संसारभरकै विद्यार्थीलाई समस्या पार्छ ।
छात्रवृत्तिमा पढ्न जाने विद्यार्थीसमेत रोकिन थालेका छन् नि ?
छात्रवृत्तिका विद्यार्थीलाई बजेट कति कटौती हुन्छ भन्नेमा निर्भर रहन्छ । अहिले भिसा नीतिले अवरोध पुगेको हुन सक्छ । दीर्घकालीन रूपमा छात्रवृत्ति कति कटौती हुन्छ । त्यो निर्णय भएको छैन । शिक्षामा छुट्याउने बजेट, लगानीसँग पनि यो कुरा निर्भर रहन्छ । अमेरिका ठूलो अर्थतन्त्र भएको देश हो । कतिपय विश्वविद्यालयहरू विदेशी विद्यार्थीबाट लिने शुल्कमा नै भर परेका हुन्छन् । तिनीहरू ठूलो संकटमा पर्ने कारण पनि अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गर्ने विषय लामो समय टिक्न सक्छ जस्तो लाग्दैन ।
उच्च शिक्षाका लागि अमेरिका जाने तयारीमा रहेका विद्यार्थीलाई के सुझाव छ ?
पढ्न विदेश नै जाने सोच बनाएका विद्यार्थीले अन्य मुलुकमा पनि विकल्प हेर्न सक्छन् । अमेरिका नै जानुपर्छ भन्ने केही छैन । अहिले पनि भिसामा पूर्णतया रोक लगाएको होइन । कडाइ गर्ने नीति मात्र हो । विद्यार्थीले विदेश मात्र भन्नु पनि हुँदैन । नेपालमा पनि सम्भावना छ । यहाँका विश्वविद्यालय र कलेजमा पनि अवसरहरू प्रशस्त छन् । अन्य देशका प्रतिष्ठित विश्वविद्यालयमा पनि अवसरहरू छन् ।
उच्च शिक्षाका लागि नेपाली विद्यार्थीले अमेरिका नै राज्नुपर्ने कारण के हुन् ?
विश्व वरीयताक्रममा अमेरिकी विश्वविद्यालयहरू अग्रस्थानमा छन् । पहिलेदेखि नै नेपालीहरू पढ्न जानेआउने अभ्यास पनि हुँदै आएको छ । यसले पनि सहयोग गर्छ । अमेरिकाको डिग्रीले विश्वव्यापी मान्यता प्राप्त गर्ने भएकाले पनि आकर्षण देखिन्छ । धेरै देशका मान्छेसँग भेटघाट र घुलमिल हुने अवसर पनि पाइन्छ । समाज पनि खुला छ । घुलमिल भएको समुदाय पनि विद्यार्थीमैत्री छ । विदेशी विद्यार्थीका लागि त्यहाँ राम्रो वातावरण छ । सम्मान नै गर्छन् ।
भाषाको हिसाबले पनि नेपाली पछि हामीलाई अंग्रेजी नै सजिलो लाग्छ । अंग्रेजीप्रतिको मोहले पनि काम गरेको छ । विज्ञान, प्रविधि, नवप्रवर्तन, आईटी क्षेत्रको पर्ढा पनि गुणस्तरीय छ । पहिले त्यही नै अमेरिकाको पढाइप्रति ठूलो विश्वास रहँदै आएको छ ।
(न्यौपानेले अमेरिकाको कन्सास स्टेट विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन्)
