मैकोटको मुहारमा विकासको लाली

मोटरबाटो पुग्यो, घरघरमा मिटर जडित धारा छन्, बारीभरि हलक्क मकै र लटरम्म स्याउका फल लागेका छन्, अनि पाहुनालाई स्वागत गर्न तयार छन् होमस्टे र होटल

जेष्ठ २२, २०८२

महेश केसी

A blush developed on Makot's face

रुकुमपूर्व — बारीमा कतै चैतमा रोपेका मकै हलक्क छन्, कतै स्याउका लटरम्म फल लागेका छन् । जाडो न गर्मी ठिक्कको मध्य–जेठमा मौसमसँगै रुकुमपूर्वको पुथाउत्तरगंगा–१ मैकोट गाउँ यतिबेला मनोरम देखिएको छ । हिउँदे वर्षा र हिमपात पर्याप्त नभए पनि चैतयता पटक–पटक परिरहेको पानीले जमिन सिञ्चित हुँदा किसानमा खुसी छाएको छ । 

गाउँमा भने यतिबेला खासै चहलपहल छैन । कारण हो गाउँका प्रायः मानिस यार्चागुम्बु टिप्न बुकी उक्लिएका छन् । चैततिर मकै छरेर गएका उनीहरू असार मध्यतिर मात्र फर्किनेछन् । गाउँमा स्कुले बालबालिका र वृद्धवृद्धा भने भेटिन्छन् ।

गाउँमा रहेकाहरू मकै गोड्ने मेलो मिलाइरहेका छन् । दुई/चार वर्षअघि जाँदा सुनिने घोडा–खच्चडको डाङडाङ...डुङडुङ... आवाज अचेल खासै सुनिँदैन । किनभने मैकोटसम्म मोटरबाटो पुगेको छ । केही वर्षयता हुकाम अनि गरसम्म मोटर चढेर त्यहाँबाट झन्डै आधा दिन पैदल हिँडेपछि मैकोट पुग्न पाइएको छ ।

सहिद मार्ग भएर दाङ–रोल्पातिरबाट र मध्यपहाडी लोकमार्ग भएर काठमाडौं–पोखरातिरबाट आउने जोकोहीले मध्यपहाडी लोकमार्गलाई भुमेको काक्रीमा छाडेर करिब ५५ किमि यात्रा गरेपश्चात् मैकोट पुगिन्छ ।

तकसेरा अनि अरू सुन्दर गाउँबस्ती र पाखापखेरा छिचोलेर भीमकाय पहाडको फेदमा निर्माणाधीन कच्ची सडकमा यात्रा गर्न त्यति असहज छैन । हुकामदेखि तल बत्वा खोलामा पुल नहुँदा वर्षा हुँदा खोला बढ्छ, मोटर तार्न मुस्किल पर्छ । खोलाबाट मैकोटसम्म उक्लिने बाटो उति सजिलो छैन ।

केही महिनाअघि मात्र खोलिएको ट्र्याक अलि ठाडो भएकाले फोरह्विल गाडी भए मात्र मैकोटसम्म पुग्न सकिन्छ । मैकोटसम्म मोटर पुगेकामा आफूहरू खुसी भए पनि बत्वा खोलादेखि माथिको बाटो हेर्दा जोकोहीलाई पनि डर लाग्ने स्थानीय रामप्रसाद पुन बताउँछन् । ‘बाटो त आयो तर अलि धेरै उकालो भयो,’ उनी भन्छन्, ‘अब यो बाटो पनि मिलाउन पर्‍यो, अनि बत्वामा पुल पनि चाहियो ।’

A blush developed on Makot's face

आफूहरूले पुल माग गरे पनि योजनामा नपरेको गुनासो गर्दै वडाध्यक्ष वीरमान विकले यसपालिको बजेटमा बेलिब्रिज परेको खबर सुनेको बताए । ‘सुनेको मात्र हो, तर कन्फर्म छैन, परेको भए राम्रै भयो, नपरेको भए त हाम्रा दुःख उस्तै रहने भए,’ उनी भन्छन् ।

मैकोट गाउँ घुम्दा देखिएको एउटा गजबको विकास हो खानेपानी । ‘कादुरी’ नामको गैरसरकारी संस्थाको सहयोगमा घर–घरमा मिटरसहितका धारा छन् । अब त्यहाँ पानी सञ्चालन गर्न केही समय लाग्ने जनाइएको छ । स्थानीयस्तरमै उत्पादन गरिएको बिजुलीले उज्यालो भएको छ, तर गाउँभरि प्रयोग गर्दा पावर नपुग्ने समस्या छ ।

घुम्न आउने पाहुनालाई स्वागत गर्न तम्तयार भएर बसेको जस्तो लाग्छ मैकोट । यहाँ होमस्टे र होटल पनि सञ्चालनमा छन् । समग्रमा भन्नुपर्दा मैकोटको मुहारमा विकासको लाली छाउँदै छ । यसलाई गति बढाएर जाने हो भने स्थानीयको मुहार पनि फेरिनेछ ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully