आज देश दुनियाँमा के-के भयो ? 

जेष्ठ २१, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — माओवादी उपाध्यक्ष सापकोटाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान हुने, ‘राइड सेयरिङ’ नियमन समेटेर गण्डकीको नीति तथा कार्यक्रम सार्वजनिक, भिजिट भिसा प्रकरणमा विपक्षी दलको अडान कायमै, बिहीबारसम्मका लागि बैठक स्थगितदेखि दक्षिण कोरियाको राष्ट्रपतिमा जे–म्यूङ निर्वाचितसम्मका खबर आज चर्चामा रहे । 

०००

माओवादी केन्द्र उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सापकोटाविरुद्ध १४ वर्ष पुरानो रिटमा सुनुवाइ गर्दै ज्यान मुद्दामा अनुसन्धान गर्न सरकारलाई परमादेश दिएको हो । सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला कनकमणि दीक्षितलगायत मानवअधिकारवादीले रिट दायर गर्दै ज्यान मुद्दाका दोषीलाई मन्त्री बनाएको भन्दै उनलाई बर्खास्त गरी जिल्ला अदालत काभ्रेमा मुद्दा चलाउनुपर्ने माग गरेका थिए । 

०००

संघ सरकारको हस्तक्षेपपछि राइड सेयरिङ नियमावली कार्यान्वयनबाट तत्काललाई पछि हटेको गण्डकी प्रदेश सरकारले त्यसको नियमन गर्ने विषय समेटेर आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभाको बुधबारको बैठकमा प्रस्तुत गरेको आगामी आव २०८२र८३ को वार्षिक नीति तथा कार्यक्रममा राइड सेयरिङलाई प्रभावकारी नियमन र व्यवस्थापन गरिने उल्लेख छ । 

०००

भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध भइरहेको छ । बुधबार पनि बैठक नै नबसी बिहीबारसम्मका लागि स्थगित गरिएको छ । १ बजेका लागि बोलाइएको बैठक केही बेरअघि संघीय संसद् सचिवालयले सूचना टाँस गरेर ३स्१५ बजेका लागि सारिएको बताएको थियो । तर उक्त समयमा पनि बैठक नबसेपछि संसद् सचिवालयले बिहीबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको जनाएको छ । 

०००

त्रिभुवन विश्वविद्यालयमा तोडफोड भएको एक सातापछि विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले शिक्षामन्त्री रघुजी पन्त गृह प्रशासनको उच्च तहसँग परामर्शमा रहेको जनाएको छ । गत बुधबार सत्तारुढ नेविसंघबाट निर्वाचित स्ववियु अध्यक्षलगायतका पदाधिकारीले उपकुलपति खड्ग केसीको कार्यकक्षमा तोडफोड गरी क्षति पुर्‍याएका थिए । त्रिवि कार्यकारी परिषद्ले दोषीलाई कारबाही गर्न प्रहरी वृत्त कीर्तिपुरमा उजुरी दिए पनि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छैन ।  

०००

दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति ली जे–म्युङले आणविक शक्ति सम्पन्न उत्तर कोरियासँग सम्पर्क गरेर ‘घाउ निको पार्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् । दक्षिण कोरियाका नयाँ मध्यमार्गी वामपन्थी नेताले ‘बढ्दो संरक्षणवाद र आपूर्ति शृङ्खलाको पुनर्संरचना’ ले एशियाको निर्यातमा निर्भर चौथो ठूलो अर्थतन्त्रका लागि अस्तित्वको खतरा उत्पन्न गरेको चेतावनी पनि दिएका छन् । मध्यावधि निर्वाचनमा लीले पूर्व राष्ट्रपति युन सुक योलको पूर्व पार्टी कन्जरभेटिभ पार्टीका नेता किम मुन–सोलाई पराजित गर्दै विजयी भएका छन् । 

कान्तिपुर

Link copied successfully