विपद् जोखिम न्यूनीकरणमा समुदायस्तरका स्वयंसेवक र सूचकको भूमिका महत्वपूर्ण : अर्याल

जेष्ठ २१, २०८२

कान्तिपुर संवाददाता

The role of community level volunteers and indicators is important in disaster risk reduction: Aryal

काठमाडौँ — सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् जोखिम न्यूनीकरणमा समुदायस्तरका स्वयंसेवक र सूचकको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताएका छन् । स्वीजरल्यान्डको जेनेभामा जारी ‘विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी प्लेटफर्मको आठौं सत्र’मा बोल्दै उनले यस्तो बताएका हुन् ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा दीर्घकालीन प्राथमिकता राखेर काम गरिरहेको बताउँदै भने, ‘विपद् स्वयंसेवक तथा विपद् सूचकहरुको संजालमार्फत विपद्को पूर्वजानकारी, परिचालन, उद्धार एवम् राहत कार्य प्रभावकारी हुन्छ ।’

उनले सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय र पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भई विपद् व्यवस्थापनसँग सम्बन्धी उच्चस्तरीय तालिम संचालन गरी दक्ष जनशक्ति उत्पादन गरिरहेको बताए । 

नेपाल प्राकृतिक विपद्हरुको अग्रपंक्तिमा रहेकोले यस्ता प्रकारका चुनौती सामना गर्न र विपद् जोखिम न्यूनिकरण गर्न प्रतिबद्ध रहेको बताउँदै उनले भने, 'एक्लो प्रयासले मात्र विपद्को सामना सम्भव हुँदैन यसमा विश्व समुदायको सामूहिक प्रयास अन्तर निकाय समन्वय हुनुपर्छ ।'

कान्तिपुर

Link copied successfully