भिजिट भिसा प्रकरणमा सरकार गम्भीर देखिएन, सदनमा अवरोध जारी रहन्छ : माओवादी

जेष्ठ २१, २०८२

कान्तिपुर संवाददाता

The government is not serious about the visit visa issue, the obstruction in the House continues: Maoists

काठमाडौँ — भिजिट भिसा प्रकरणमा विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने पुराने अडान दोहोर्‍याएका छन् । बुधबार दिउँसो संसद् भवनमा सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादीले पुरानै अडान यथावत रहेको बताएको हो। 

बैठकमा सहभागी माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सरकार पक्ष गृहमन्त्रीको राजीनामा र छानबिन समिति बनाउन दुवैमा तयार नभएपछि सहमति नभएको बताउँछन् । उनले भने, 'सरकारले यी दुवै कुरा नगरी सदन मात्र खुलाउने कुरा गरेपछि सहमति हुन सकेन । हामीले छानबिन समितिलाई सघाउन गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ भनेका हौँ ।  हाम्रो मुख्य मुद्दा भनेको भिजिट भिसा सेटिङको स्वतन्त्र छानबिन होस् भन्ने हो ।' सरकार यी माग पूरा गर्न तयार नभए सदनमा अवरोध जारी रहने पनि पाण्डेले बताए । 

सभामुख घिमिरेले बोलाएको बैठकमा कानुनमन्त्री अजयकुमार चौरिसया, एमाले मुख्य सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादी प्रमुख सचेतक हितराज पाण्डे थिए । विपक्षी दलहरूको अडानले मंगलबार संसद् बैठक बस्नै सकेन । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पनि अनिश्चित बनेको छ ।  तर १ घण्टा भन्दा बढी समय जाँदा पनि अघि बढेको छैन । 

कान्तिपुर

Link copied successfully