आन्दोलन घोषणा गर्न आयोजित राजावादीको कार्यक्रम बिथोलियो, सुवेदी भन्छन् - 'कन्ट्रोल गर्नुपर्‍यो'

जेष्ठ २१, २०८२

कान्तिपुर संवाददाता

Rajavadi's program to announce the movement was canceled, says Subedi - 'had to be controlled'

काठमाडौँ — नवराज सुवेदी, राप्रपा, राप्रपा नेपाललगायतका राजावादी राजनीतिक दल र विभिन्न समूहबीचको कार्यक्रम होहल्लासँगै अवरुद्ध भएको छ । जेठ १५ देखि सुरु गरेको आन्दोलनले गति लिन नसकेपछि राजावादी समूहहरूले बुधबार समीक्षा बैठक राखेका थिए ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोन समितिको बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतको उपस्थिति रहेको थियो । तर त्यहाँ उपस्थितहरूले बैठकको सुरुमै होहल्ला गर्न थालेपछि नयाँ आन्दोलन घोषणा नै हुन सकेन ।

थापाले बैठकमा आफ्ना धारणा राख्न लाग्दा सहभागीले होहल्ला गरेपछि मञ्च छोड्नुपरेको थियो । थापाले मञ्चमा पुगेर भनेका थिए, 'तपाईंहरू हल्ला गर्ने हो भने म बोल्दैन । तपाईंहरू हल्ला गर्ने हो भने म बोल्दिनँ, जे मन लाग्यो त्यै गर्नुस्, यसरी बैठक चल्छ ?' यत्ति शब्द भनेर उनले मञ्च छोडेका थिए । 

कार्यक्रम सुरु नहुँदै संयोजक सुवेदीले स्थगित गरेका थिए । 'यो सभालाई बिसर्जन गर्नुभन्दा पहिले साथीहरू सबैलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । तपाईंहरूको उत्साह, जाँगर र विचारप्रतिको अटल विश्वासलाई देखेर म बुढो भए पनि ममाथि झन् ऊर्जा थपिएको छ । म राम्रो कार्यक्रम ल्याउनेछु र तपाईंहरूको बिचमा फेरि दोस्रो तहको आन्दोलन पेस गर्नेछु । तपाईंहरू विश्वस्त हुनुहोस् । आजलाई यो सभा यहीं बन्द गर्न चाहन्छु धन्यवाद,' सुवेदीले भनेका थिए । 

कार्यक्रममा राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देन भने उपस्थित भएनन् । राजसंस्था पुनर्स्थापना गर्ने भन्दै जारी आन्दोलन प्रभावकारी नभएकामा राजावादी कार्यकर्ता नेतृत्वसँग असन्तुष्ट देखिएका हुन् । ४५ राजनीतिक दल र समूहको बैठक बसेको सुवेदीले बताए ।

कार्यक्रममा कार्यकर्ता आक्रोशित भएर आएकाले समस्या भएको सुवेदीले बताए । 'मान्छेहरू धेरै एग्रेसिभ भएर आएका थिए । त्यसलाई केही कन्ट्रोल गर्नुपर्‍यो भन्ने मेरो धारणा हो,' उनले भने । सरकार राजावादी आन्दोलनप्रति निर्मम भएको आरोप पनि सुवेदीले लगाएका छन् ।

सुवेदीले दुर्गा प्रसाईंमाथि अन्याय भएको पनि बताए । चैत १५ मा तीनकुनेमा राजावादी आन्दोलन गरिएको थियो । त्यहाँ पनि सुवेदी र प्रसाईंसँगै राप्रपाका नेताहरू सहभागी भएका थिए । चैत १५ मा दुई जनाको मृत्यु भएको थियो भने सरकारी र निजी सम्पत्तिमा तोडफोड र लुटपाट तथा आगजनी गरिएको थियो । तर, सुवेदीले भने उक्त कार्यक्रममा सहभागीहरूमाथि मुद्दा लगाएर अन्याय गरिएको दाबी गरे ।

'अन्याय गरेर दुर्गा प्रसाईंलाई सरकारले जेल हालेको छ । हाम्रा ६०/६१ मान्छेलाई मुद्दा लगाइएको छ । पचासौं मान्छे जेलमा छन् । तर यति हुँदा पनि मैले हिम्मत हारेको छैन,' उनले भने । 

कान्तिपुर

Link copied successfully