काठमाडौँ — एकीकृत समाजवादीका सांसद वेदुराम भुसालले बजेटमा घाटाको अनुपात बढेको तथा उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा बजेट कटौति गरिएको आरोप लगाएका छन् ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै भुसालले लामो समय देखि घाटाको बजेट प्रस्तुत हुँदै आएको बताए । उनले अर्थमन्त्रीले मुलुकको यथार्थमा टेकेर बजेट ल्याएको भनेपनि घाटाको अनुपात बढेको बताए ।
मुलुकको अर्थतन्त्रमा २५ प्रतिशतभन्दा बढी घाटा हुन नहुने भएपनि नेपाल ३० प्रतिशत घाटामा गइसकेको भुसालको भनाइ थियो । कृषि, उद्योग, पर्यटन, उर्जा लगायतका क्षेत्रमा बजेट कटौति गरेकै कारण उत्पादन र रोजगारी सिर्जनामा वृद्धि गर्ने कुरा सम्भव नहुने उनको भनाइ थियो ।
‘धेरै वर्षदेखि हामीले घाटाको बजेट प्रस्तुत गर्दै आइरहेका छौँ । घाटाको बजेटको पनि अनुपातमा वृद्धि भएको छ । अर्थमन्त्रीले यथार्थपरक बजेट ल्याएको भन्नुभएको छ । तर घाटाको अनुपात बढेको देखिन्छ । अर्थतन्त्रमा २५ प्रतिशतभन्दा बढी घाटा हुनु हुँदैन भनिन्छ । तर हामी ३० प्रतिशतभन्दा बढी घाटामा गइसक्यौँ,' भुसालले भने, 'बजेटले गरेको उत्पाद र रोजगारी सिर्जनाको वृद्धि गर्ने कुरा पनि म सम्भव देख्दिनँ । किनभने रोजगारी सिर्जना गर्ने क्षेत्र कृषि, उद्योग, पर्यटन, ऊर्जा र श्रमका क्षेत्रमा अनुपातिक रुपमा बजेट घटेको छ । चालु वर्षको हिसाबले हेर्दापनि धेरै कम छ ।’
उत्पादक क्षेत्रको बजेट कटौति गरेर अनुपात्दक क्षेत्रमा बजेट खन्याएको भन्दै भुसालले अर्थमन्त्रीको आलोचना पनि गरेका थिए ।
