काठमाडौँ — कांग्रेसका सभापति शेरबहादुर देउवाले अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले २०६२/०६३ को परिवर्तनसँगै समतामूलक समाज निर्माण गर्ने उद्देश्यले पुनःस्थापित संसद्मा नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गर्ने संकल्प प्रस्ताव पनि पारित गरिएको पनि स्मरण गरेका थिए ।
सभापति देउवाले धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका मानिसले ज्यानै गुमाउनुपरेको जस्ता विभेदका घटना देख्दा, सुन्दा अत्यन्तै पीडाबोध हुने गरेको बताए । नेपाललाई विभेदरहित राज्य बनाइ समतामूलक समाज सथापना गर्न पार्टीको स्थापनाकालदेखि नै उद्देश्य राखेर आएको बताए ।
‘२०६२/०६३ को परिवर्तनसँगै समतामूलक समाज निर्माण गर्ने उद्देश्यले पुनःस्थापित संसद्मा नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गर्ने संकल्प प्रस्ताव पनि पारित गरिएको हो । यतिका धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका मानिसले ज्यानै गुमाउनुपरेको जस्ता विभेदका घटना देख्दा, सुन्दा अत्यन्तै पीडाबोध हुन्छ,' उनले भने, 'यस्तो अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास हुँदैन भन्नेकुरा विगतका अनुभवले साबित गरिसकेको छ । नेपाललाई विभेदरहित राज्य बनाइ समतामूलक समाज स्थापना गर्न हाम्रो पार्टीको स्थापनाकालदेखि नै उद्देश्य राखेर आएको छ ।’
सभापति देउवाले मुलुकका सबै समस्याको पहिचानसँगै समाधान गर्न नेपाली कांग्रेस मात्रै सक्षम रहेको बताए । जातीय भेद्भाव गर्ने व्यक्ति कांग्रेसको सदस्य रहन नसक्ने विधानमै व्यवस्था रहेको बताए ।
