जातीय भेद्भावविरुद्ध कांग्रेसले देशव्यापी अभियान चलाउनुपर्छ : महामन्त्री थापा

जेष्ठ २१, २०८२

कान्तिपुर संवाददाता

Congress should run a nationwide campaign against caste discrimination: Mahamantri Thapa

काठमाडौँ — कांग्रेस महामन्त्री गगनकुमार थापाले जातीय भेद्भाव र छुवाछूतविरुद्ध कांग्रेसले देशव्यापी अभियान चलाउने बताएका छन् । उनले कांग्रेस हाल देशकै सबैभन्दा ठूलो राजनीतिक सामाजिक संस्थाको रुपमा रहेको भन्दै कांग्रेसको दोस्रो पुस्ताले समाजमा रहेका सबै विभेदको अन्त्यका लागि नेतृत्व गर्ने बताए । 

बुधबार जातीय भेद्भाव उन्मूलन दिवसको सन्दर्भमा सानेपास्थित केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा बोल्दै महामन्त्री थापाले विभेदविरुद्धको प्रतिबद्धताकै आधारमा समाजलाई 'समुन्नत समाज, समुन्नत नेपाली' अवधारणालाई अगाडि बढाइएको बताए । 

'हामी अहिले सरकारमा छौँ । केही समयपछि सरकारको नेतृत्व पनि गर्छौँ । हामी नेपालको सबैभन्दा सामाजिक संस्था पनि हो । त्यसकारण यो समयमा हामीले चाह्यौँ भने देशभरि जातीय भेदभावका विरुद्धमा अभियान चलाउन सक्छौँ,' उनले भने, 'हरेक नागरिकलाई सम्मानित बनाउनुपर्छ, र नेपाललाई समुन्नत बनाउनुपर्छ भन्ने आधारमै हामीले 'समुन्नत समाज, समुन्नत नेपाली'को अवधारणा अघि बढाएका हौँ ।'

उनले कांग्रेसले २००९ सालमा दलितलाई महामन्त्री बनाएको थियो भनेर अहिले व्याख्या गर्नुको औचित्य नहुने बताए । 'पार्टीको स्टेप अगाडि बढ्दै जानुपर्छ । बीपी कोइरालाले २००७ सालमा जातीय भेद्भाव हटाउन अभियान चाल्नुभयो । २००९ सालमा धनमानसिंह परियारलाई महामन्त्री बनाउनुभयो । त्यो बेला सँगै खान्छौँ, सँगै बस्छौँ भन्दा पनि ठूलो क्रान्तिकारी कुरा थियो । तर अब त त्यो कुराले पुग्दैन,' उनले भने, 'अहिले समानता मुख्य मुद्दा हो । समानताका लागि समान अधिकार भएर मात्रै पुग्दैन, त्यहीअनुसार विशेष व्यवस्थाहरू पनि गर्नुपर्ने हुन्छ ।'

कान्तिपुर

Link copied successfully