सार्वजनिक सवारी नचल्दा यात्रु बिचल्लीमा

जेष्ठ २१, २०८२

कान्तिपुर टिम

Commuters are in trouble when public transport is not running

काठमाडौँ — पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको इमर्जेन्सी विभागमा बिरामी बोकेका एम्बुलेन्स र निजी गाडीको ओहोदोहोर चलिरहेको थियो । इमर्जेन्सीअघि प्रतीक्षालयमा एक दम्पती घर फर्कन गाडीको पर्खाइमा थिए । मिर्गौला फेल भएकाले पोखरा–३० खुदी नहरचोककी ५८ वर्षीया विष्णुमाया कार्की सातामा दुई पटक अस्पताल धाउनुपर्छ ।

उनलाई लिएर श्रीमान् श्रीप्रसाद श्रेष्ठ हरेक शुक्रबार र मंगलबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुग्छन् । डायलसिस सकिएपछि मंगलबार उनीहरू घर फर्कन दुई घण्टा गाडी पर्खनुपर्‍यो । ‘बिहान छिमेकीको प्राइभेट गाडीमा आएको, साढे १२ बजे फेरि लिन आउँछु भन्थे, खोइ कता गए,’ विष्णुमायाले सुनाइन् । छेउमै बसेका श्रीप्रसादले घडी हेर्दै थपे, ‘अरूलाई लिएर अन्तै गएजस्तो छ ।’ 

बिहान साढे ६ बजे अस्पताल पुगेकी विष्णुमायाको चार घण्टामा डायलसिस सकिएको थियो । सार्वजनिक सवारीसाधन नचलेपछि निजीलाई महँगो भाडा तिर्न बाध्य उनीहरूले झन्डै साढे २ घण्टासम्म अस्पतालमा गाडी कुर्दा पनि नआएपछि झनै बेचैन देखिए । ‘आउँदा–जाँदा २ हजार लाग्छ,’ विष्णुमायाले भनिन्, ‘भको पैसाले दबाई किन्ने कि कारलाई बुझाउने ? गाडी चले सस्तो हुन्थ्यो ।’ 

तनहुँ भिमादका गोरे परियार मंगलबार खुट्टाको घाउ ड्रेसिङ गराउन सोही अस्पताल आएका थिए । तर, उनी आइपुग्दा टिकट लिने समय सकिइसकेको थियो । ‘बिहान ७ बाट १२ बजेसम्म टिकट पाइने रहेछ,’ उनले सुनाए, ‘गाडी खोजेर आउँदै ढिला भयो, ड्रेसिङ नै गर्न पाइएन ।’

घाँस काट्न रूखमा चढ्दा लडेर १० दिनअघि उनको दाहिने खुट्टा भाँचिएको हो । हप्तैपिच्छे ड्रेसिङ गर्नुपर्ने, गाउँ फर्किंदा अस्पताल आउन–जान गाह्रो हुने भएकाले उनी पोखरा–१४ खसीबजारमा आफन्तकहाँ बसेका छन् । मंगलबार बिहान उनलाई अस्पताल ल्याउन बुहारीले गाडी खोज्न थालिन् । डेढ घण्टासम्म खोज्दा पनि नभेटिएपछि उनले सामान ओसार्ने गाडीमा गोरेलाई अस्पताल ल्याएकी थिइन् ।

तर अस्पताल आउँदै ढिला भएपछि उपचार नगरी फर्किन बाध्य भए । ‘आपत परेपछि चिनेको तरकारी बोक्ने गाडीले ल्याइदिएको थियो । अब भोलि फेरि के गरी आउने हो ?,’ गोरेले भने । घर फर्किने गाडी नपाएपछि उनी ‘राइड सेयरिङ’ मा मोटरसाइकल चढेर फर्किए । सार्वजनिक सवारी नचल्नुको कारण उनले राम्रोसँग बुझेका छैनन् तर छिटो समस्या समाधान गर्न सरकारलाई उनको आग्रह छ । 

Commuters are in trouble when public transport is not runningनारायणगढको पोखरा बसपार्कमा पार्किङ गरेर राखिएका बसहरू । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर

यातायात व्यवसायीको केरकारले निजी सवारी चालक आतंकित 

गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नियमावलीको विरोधमा सार्वजनिक यातायात व्यवसायीले यहाँ सवारी चलाउन बन्द गरेको ५ दिन भइसक्यो । यातायात बन्द गरेर सडकमा उत्रिएका व्यवसायी र मजदुरको दुर्व्यवहारले गोरखाको सडक पनि पाँच दिनदेखि अशान्त बनेको छ ।

हरमटारी, बाह्रकिलो, कट्टेल चोकलगायतका क्षेत्रमा भेला भएर बसेका सार्वजनिक यातायात व्यवसायी र मजदुरले ‘यात्रु बोकेको’ भन्दै निजी सवारी रोकेर केरकार गरिरहेका छन् । जन्ती बसलाई समेत अप्ठ्यारो पारिरहेका छन् । 

शुक्रबार दिउँसो काठमाडौंबाट यात्रु लिएर आएको बा५ख ५३९९ नम्बरको बसलाई बाह्रकिलोमा तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । निजी सवारीसाधन रोकेर यात्रुलाई समेत दुर्व्यवहार र कुटपिट गरिएको छ । त्यसैगरी, बोलेरो लिएर घर फर्कंदै गरेका पालुङटार–१० मिरकोटका कृष्णहरि देवकोटा शनिबार बाह्रकिलो चोकमा कुटिए ।

‘रातो नम्बर प्लेटको बोलेरो लिएर फर्कंदै थिएँ, बाह्रकिलोमा रोकेर आन्दोलनको बेला गाडी गुडाउने भन्दै एकाएक हात हाले,’ उनले भने । कुटपिटपछि ट्राफिक प्रहरीलाई जानकारी गराउँदा उल्टै दुई हजार जरिवाना गराएको देवकोटाले गुनासो गरे । ‘प्रयोजनविपरीतको सवारी भयो भनेर उल्टै मलाई जरिवाना काटियो,’ उनले थपे, ‘कुटाइ खाएको बारे रातमाटे प्रहरी चौकीमा निवेदन दिएको छु ।’

व्यवसायीले सडकमा देखाएको मनपरीविरुद्ध प्रशासन भने मौन छ । तर कुटपिट र दुर्व्यवहार भएको भन्दै कुनै पनि निवेदन नआएको जिप्रका गोरखाका एसपी भरत विकले बताए । ‘समूहमा आएर कसैले जानकारी गराएमा सुरक्षा दिन्छौं, सार्वजनिक सवारीलाई कसैले रोकटोक गर्न पाउँदैन,’ उनले भने । 

शुक्रबारदेखि नै गोरखाबाट लामो तथा छोटो दूरीका सवारी नचल्दा यात्रु अलपत्र छन् । सिरानचोक–१ केराबारीका महेन्द्रप्रसाद ढकाल बस नचल्दा सास्ती भोग्नुपरेको बताउँछन् । मालवाहक सवारी नचल्दा उपभोग्य सामग्री ढुवानीमा पनि समस्या देखिएको छ ।

बन्दका क्रममा निजी सवारीसाधन नरोकेको गोरखा दरौदी यातायात सेवा प्रालिका अध्यक्ष दीपक बोहराले दाबी गरे । ‘रातो प्लेटका सवारीले पनि अवैधानिक रूपमा चर्को भाडा लिएको पहिचान भए रोक्ने, भाडा फिर्ता गराउने काम भएको होला, निजी प्रयोजनमा ल्याएर लुट गरेकालाई पहिचान गरेर प्रहरीलाई खबर गरेका छौं,’ उनले भने, ‘स्कुल, पर्यटक बस रोकेका छैनौं ।’

'आमाको मुख हेर्न नपाउने पीर’

मंगलबार मध्याह्न कैलालीको धनगढीस्थित बसपार्कमा एक युवकको अनुहारमा बेचैनी र आक्रोश एकसाथ देखिन्थ्यो । घरी फोनमा चिच्याउने त घरी बस चालकसँग झगडा गर्न तम्सिने उनी कति बेला एकान्तमा आँसु झारिरहेका देखिन्थे ।

आफ्नो पीडादायी अवस्थाका बारेमा पछि उनले रुँदै भने, ‘मेरी आमा अस्पतालमा अन्तिम सास फेरिरहेकी छन्, इन्डियादेखि आमालाई भेट्न आएँ तर धनगढीबाट घर पुर्‍याइदिने कोही भएन ।’ डोटीको सायल गाउँपालिकाका करुण ओली तीन दशकदेखि भारतमा रोजगारी गर्दै आएका रहेछन् । आमा सिकिस्त भएको खबर पाएपछि मंगलबार बिहान ६ बजे धनगढी पुगेका उनी डोटी जाने बस खोज्दै दिन बितेको बताउँदै थिए । 

Commuters are in trouble when public transport is not runningपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा खुट्टाको घाउ ड्रेसिङ गर्न आएका तनहुँ भीमादका गोरे परियार । तस्बिर : अनुप/कान्तिपुर

ओलीकी आमा अहिले डोटी अस्पतालमा उपचाररत छिन् । आफ्नो दुखेसो जतिलाई पोखे पनि कसैले नसुनिदिएको उनले गुनासो पोखे । जति चालकलाई अनुनय गर्थे, सबैको एउटै जवाफ हुन्थ्यो, ‘हामीले पनि पीडित भएरै यातायात बन्द गरेका हौं ।’

ओली पछि निजी सवारीसाधन खोज्न लागे । ‘मलाई जसरी भए पनि डोटी पुग्ने वातावरण मिलाइदिनू । ढिलो भए आमाको मुख हेर्न पाउने हैन,’ उनले धेरैलाई गुहारे । जति प्रयास गर्दा पनि गाडी नपाएपछि उनले सरकारप्रति आक्रोश पोखे, ‘यो देशमा सरकार छ कि छैन ? अन्तिम अवस्थामा पुगेकी मेरी आमाको जिउँदो मुख पनि हेर्न नपाउनू ? सरकार के हेरेर बसेको छ ? हामीजस्ता गरिबले कहिलेसम्म दुःख पाउने ?’ 

कैलालीको अत्तरियास्थित बसपार्कमा अर्का यात्रुले लम्कीचुहा जान बिहान ७ बजेदेखि बस कुरिरहेका थिए । बस नचल्ने भएपछि भिनाजुको अटो (ई–रिक्सा) मा जान खोजे पनि दिइएन । मंगलबार बेलुकासम्म कैलालीको धनगढी र अत्तरिया दुवै बसपार्कमा थुप्रै यात्रु बस चल्ने पर्खाइमा थिए । तर बस कहिलेदेखि चल्ने, टुंगो छैन ।

सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी, दार्चुला सबै ठाउँका यात्रु कैलालीमै रोकिएका छन् । उनीहरू तीन दिनदेखि होटलमा बस्न बाध्य छन् । होटलको बास भइरहेको छ, पानी पनि किनेरै खानु परिरहेको छ । यत्रो पैसा कहाँबाट ल्याउनू ?,’ डडेलधुरा जान सोमबारबाट धनगढी बसपार्कमै रोकिएकी एक यात्रुले पीडा सुनाइन् । 

गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीले मारमा परेको भन्दै आन्दोलित बनेका सार्वजनिक यातायात व्यवसायीले अहिले देशव्यापी रूपमा यातायात ठप्प पारेका छन् । जसको प्रत्यक्ष असर सुदूरपश्चिममा पनि परेको छ । कैलालीको अत्तरिया र धनगढी बसपार्कमा सोमबार बिहानैदेखि सार्वजनिक यातायात पूर्ण रूपमा बन्द छ । सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले गण्डकी प्रदेशले रातो नम्बर प्लेटका सवारीसाधनलाई यात्रु ओसार्न अनुमति दिएपछि अन्य प्रदेशले पनि त्यसको सिको गर्छन् भनेर यातायात ठप्प पारेको बताए । सरकारसँग राखेका सात वटा माग सम्बोधन भए मात्र यातायात सञ्चालन गर्ने उनले बताए । 

बस नचल्दा सुदूरपश्चिमको मुख्य चौराहा अत्तरिया बसपार्क वरपर यात्रुहरू भौतारिरहेका देखिन्छन् । धनगढीमा अटोरिक्सा चलिरहँदा अत्तरियाका व्यवसायीले भने अटोरिक्सासमेत बन्द गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक चन्द्रबहादुर देउवाले काठमाडौंमा प्रहरीले आफ्नो गाडीबाट आकस्मिक यात्रुलाई ओसारपसार गरे पनि यता त्यो सुविधा दिन सम्भव नभएको बताए । 

सोमबार राति भारतबाट सुनौली नाका हुँदै नेपाल आएका पर्वतका नारदप्रसाद भुसाल घर जान मंगलबार बिहानै बुटवल बसपार्क आए । बस चल्ने आशामा दिनै बिताए । उनीजस्तै बोरामा भाँडाकुँडा र लत्ताकपडा बोकेर विराटनगर पुग्नुपर्ने ७ जनाको समूह बसपार्कमै थियो ।

उक्त समूहका वसन्त ऋषिदेवले आफूहरूले सूर्यपुरामा पुल बनाउने काम गर्न आएको र घर जाने बेलामा गाडी नपाएको बताए । ‘पैसा पनि छैन, रातभरि बसपार्कमा सुत्यौं, खानेकुरा छैन, अहिलेसम्म भोकै छौं,’ वसन्तले भने, ‘भाँडाकुँडा त छ, पकाउने कुरा किन्न एक सुको छैन ।’ अझै पनि गाडी चल्ने निश्चित नहुँदा आफूहरूको बिचल्ली भएको उनले दुखेसो गरे । 

यातायात व्यवसायीले सवारी ठप्प पारेर सरकारसँग वार्ता गरिरहे पनि सर्वसाधारणको यात्रा प्रभावित भएको बारे कसैले ध्यान दिन सकेका छैनन् । सोमबार र मंगलबार रूपन्देहीका मुख्य सडकमा छोटो तथा लामो दूरीका कुनै पनि बस चलेनन् । बस चल्ने आसमा बसपार्कमै रात बिताएका कतिपयले गाडी रिजर्भ गर्न खोजे पनि व्यवसायीले केही गर्लान् भन्ने त्रासले अड्किए । साना गाडी, ट्रिपर, जिपले समेत अलपत्र परेकालाई गन्तव्यसम्म पुर्‍याउन मानेका छैनन् । 

अर्घाखाँचीबाट जापान जानका लागि तीन दिनअघि बुटवल आएर गेस्ट हाउसमा बसेका पदमबहादुर भाट पैसा सकिन लागेपछि चिन्तामा छन् । घरदेखि बिदावारी भएर आएका उनलाई साताभित्र उड्न नपाए भिसा रद्द हुने तनाव छ । सानो गाडीमा महँगो भाडा तिर्न नसकिने र सार्वजनिक सवारी व्यवसायीले नचलाउन धम्क्याएकाले जान नसकेको उनले बताए । बुटवल बसपार्कमा मंगलबार अलपत्र अवस्थामा रहेका धेरै यात्रु भाडा तिर्ने पैसा जति खाना र होटलमा बस्दा सकिएकाले गन्तव्यमा जान समस्या भइरहेको बताइरहेका थिए । 

भारतको गोरखपुरबाट ८ सय रुपैयाँ तिरेर अटोरिक्सामा बुटवल आइपुगेको अतुल सोनीको परिवार गाडी नचले फिर्ता जानेबाहेक विकल्प नरहेको बताइरहेका थिए । उनको चार जनाको परिवार काठमाडौं घुम्न जाने भनेर बुटवल आइपुगेको हो ।

उनले भने, ‘बच्चासित कति गाह्रो भइरहेको छ, घुम्न भनेर हिँड्दा बाटोमै रोकिनु परेपछि हामी त फस्यौं ।’ त्यस्तै, भारतबाट बिदामा घरआएका पोखरा, प्यूठान, रोल्पा र हरैया घर भएकाहरू पनि बसपार्कमा गाडी पर्खिरहेका थिए । ‘गाडी बन्दको कुरा थाहै पाइएन, दुःख पाइयो, दुई दिन यतै भइसक्यो, गाडी चल्ने सुरसार छैन,’ प्यूठानका तिलक पुनले भने । उनले आफू, परिवार र साथीसमेत आएकाले एक्लै छोडेर हिँड्न नमिलेको सुनाए । 

धेरैजसो यात्रु खर्च सकिएर बाटोमै अलपत्र परेको उनले बताए । ‘खर्च सकिएर भौंतारिएका छौं, पोखरा जाने एक साथीले त ६ हजार घरबाट मगाएर होटलमा बसेर बस कुरिरहेको छ,’ उनले सुनाए । चर्को गर्मीमा रातदिन पर्खनुपर्दा धेरै सास्ती भए पनि समस्या देख्ने कोही नभएको यात्रुहरूको गुनासो छ । सीमापारिबाट यहाँसम्म पुग्न पनि भारतबाट भित्रिएका नेपाली हुन् वा भारतीयहरू, ई–रिक्सा, साना सवारीसाधनमा महँगो भाडा तिरेर आउन बाध्य भएका छन् । 

बसपार्कमा बिहानदेखि गाडी कुर्दै 

सोमबारदेखि सार्वजनिक यातायातका साधन नचल्दा बर्दियामा पनि कामविशेषले निस्केका यात्रु अलपत्र छन् । सार्वजनिक सवारी बन्दले सुनसान बनेको गुलरिया बसपार्कमा मंगलबार बिहानदेखि कैलालीको धनगढी–१२ मनोहराका दुई युवती गाडी पर्खिरहेका थिए । ‘हामीलाई गाडी बन्द रहेको थाहै भएन । बीच बाटोमा आएर दुःख पाइयो,’ मनोहराकी अञ्जली चौधरीले भनिन् । गुलरिया बसपार्कमा बिहानदेखि भोकै गाडी कुरेर बसेको सँगै रहेकी सिमता राजीले बताइन् । 

Commuters are in trouble when public transport is not runningमंगलबार बुटवल बसपार्कमा बस पर्खिरहेका यात्रु । तस्बिर : सन्जु/कान्तिपुर

डडेलधुरा बसपार्कको पीपलचौतारीको छहारीमा उभिएका अजयमेरु–६ कानाकोटका गोपालदत्त जोशी बिहान ७ बजेदेखि अपराह्नसम्म सवारीसाधन कुर्दै बिताए । बुधबार बिहान ७ बजे धनगढीबाट काठमाडौंका लागि हवाई टिकट लिएका उनी झिसमिसेमै गाउँबाट हिँडेका हुन् । ‘छोरी भेट्न काठमाडौं जाँदै थिए, यहाँबाट धनगढीकै लागि निजी सवारीले ७ हजार भाडा भन्दैछन्, अरू गाडी बन्द छन्,’ उनले भने, ‘अरू बेला धनगढी जान ६ सय भाडा मात्र पर्छ ।’ 

डडेलधुराकै आलिताल गाउँपालिका–८ का गजेन्द्र बोहरा पनि मंगलबार दिनभर बसपार्कमै थिए । दैनिक मजदुरी गर्ने बोहरा डोटीको बुडरसम्म जान चाहन्थे । २ सय रुपैयाँ भाडा पर्ने दूरीमा ट्याक्सीलगायत निजी साधनले १६ सय रुपैयाँ मागेपछि उनी छक्क परे । ‘मजदुरी गर्न जान खोजेको कसरी १६ सय तिर्नू ?,’ उनी भन्छन्, ‘यही हो गरिबको पीडा ?, न पैसा छ, न बाटोमा हिँड्न पाइएको छ । कसको के माग हो, दुःख हामी सर्वसाधारणलाई भइरहेको छ ।’ सार्वजनिक यातायात बन्दले निजी सवारी धनीले बढी भाडा असुल्ने मौका पाएको उनले बताए । 

सधैं भीडभाड हुने डडेलधुरा सदरमुकामको बसपार्कमा दुई दिनदेखि थन्काइएका बस र गन्तव्य जान हतारिएका यात्रु मात्र देखिन्छन् । गाउँतिर जाने, धनगढी, महेन्द्रनगर हुँदै काठमाडौं जान खोज्ने यात्रु बसपार्कमै अलपत्र छन् । उग्रतारा डडेलधुरा सार्वजनिक यातायात प्रालिका कार्यवाहक अध्यक्ष दीपकराज भट्ट भन्छन्, ‘हाम्रा माग सुनुवाइ नभएसम्म गाडी चल्दैन ।’ प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले यातायात व्यवसायीको आन्दोलनका नाममा यात्रुलाई दुःख दिने, मनपरी भाडा असुल्ने निजी गाडीमाथि कारबाही गर्ने चेतावनी दिएका छन् । 

'छिटो पुग्न प्लेन चढें, गाडी पर्खंदै दिन बित्यो’ 

बहिनी बिरामी परेपछि सिरहाको भेडियाकी इन्दिरा बुढाथोकी यात्रु बस चढेर १५ दिनअघि काठमाडौं पुगिन् । बहिनीको रेखदेख गर्ने क्रममा दिदी पनि बिरामी परिन् । दिदी भेडियामै हुँदा बहिनीलाई तत्कालै घर फर्किने बाध्यता आइलाग्यो । बसमा काठमाडौं पुग्दा १५ घण्टा लागेको दुखेसो पोखेकी बुढाथोकीले छिटो घर पुग्न जहाजमा जाने निधो गरिन् । ‘छिटो पुग्नुपर्ने बाध्यताले प्लेनको टिकट काटें,’ उनले भनिन्, ‘काठमाडौंमा एयरपोर्टसम्म पुग्न गाडी सहजै पाइहालें तर समस्या राजविराज आएर सुरु भयो ।’

मंगलबार दिउँसो गाडी पर्खिरहेकी बुढाथोकीले भनिन्, ‘एयरपोर्टबाट बाहिर निस्किँदा सिटीमा चढेर बीच बजार (नेता चोक) सम्म आएको दुई सय रुपैयाँ तिर्नुपर्‍यो, त्यहाँबाट करिब ५ सय मिटर यहाँ (रुपनी सडक) आउँदा फेरि ५० रुपैयाँ लियो ।’ तर, अझै सहज रूपमा घरसम्म पुग्ने टुंगो नहुँदा उनी चिन्तित देखिन्थिन् । ‘कति बेला घर फर्किन्छिन् भनेर दिदी पर्खिरहनुभएको होला । तर, म यहाँ आफैं अलपत्र परेकी छु, अहिलेसम्म गाडी पाएकै छैन,’ उनले भनिन्, ‘जनता मरोस् कि बाँचोस्, कसलाई मतलव छ र ? सरकार, नेता र व्यवसायी सबै उस्तै हुन् ।’ 

तीन दिन बिदामा घर आएका उदयपुरको त्रियुगा–८ राजाबासका युवराज दाहाल मंगलबार काठमाडौंस्थित कार्यालय पुग्न सकेनन् । ‘नजिकैको एयरपोर्ट विराटनगर हो, त्यहाँसम्म जान पनि गाडी छैन, आफूसँग सवारी नहुँदा साह्रै दुःख पाइँदो रहेछ,’ उनले भने । समयमा कार्यालय नपुग्दा कम्पनीले तलब काटिदिने चिन्ता उनलाई छ । नसासम्बन्धी उपचारका लागि काठमाडौं जानुपरेकी त्रियुगा–११ गाईघाटकी शारदा बस्नेत पनि यतै रोकिएकी छन् । ‘नसासम्बन्धी समस्याले पीडित छु, छोरा काठमाडौंमा भएकाले त्यहीँ जचाउन सहज होला भनेर तयारी गरें तर बन्दले रोग झन् बढ्ने भो,’ उनले भनिन् । 

Commuters are in trouble when public transport is not runningसार्वजनिक सवारी बन्दले घर फर्कन नपाएर वीपी प्रतिष्ठान धरानमा अलपत्र परेका बिरामी । तस्बिर : एलिना/कान्तिपुर

यातायात बन्द हुँदा गाईघाट हुँदै काठमाडौं, पोखरा, जनकपुर, चितवन, विराटनगरलगायत विभिन्न ठाउँ पुग्नुपर्ने यात्रु अलपत्र छन् । उदयपुरका गाउँबस्तीमा पुग्दै आएको अग्नि, दरबार, सगरमाथा, गुगल, धन्जु पनौती र रौतामाई यातायातका मात्रै ४० वटाभन्दा बढी बस गाउँ–गाउँमा ‘होल्ड’ गरिएको रौतामाई यातायातका विष्णु राईले बताए । ‘हाम्रा गाडी तयारी अवस्थामा छन्, खुल्यो भन्नेबित्तिकै चल्छन् तर अहिलेसम्म खुल्ने जानकारी आएको छैन,’ राईले भने, ‘त्रियुगा र बरुवा बसपार्कसहित गाउँमा गाडी रोकिएका छन् ।’ गाईघाट बजारमा अटोरिक्साले केही यात्रु ओसारपसार गरे पनि लामो दूरीका यात्रु र सवारी मजदुर दुवै मर्कामा छन् ।

म्याजिकले स्थानीय यात्रुलाई राहत 

उता रौतहटमा मंगलबार पूर्वपश्चिम र गौर–चन्द्रनिगाहपुर सडकमा फाट्टफुट्ट भाडाका गाडी चलेका छन् । जिल्ला सदरमुकाम गौरमा मंगलबार बिहान म्याजिक गाडी चलेकाले केही यात्रुले राहत महसुस गरे । गाडी नचल्दा सदरमुकाम जान नपाएर राहदानी बनाउने काम रोकिएको चन्द्रपुर–१ का स्थानीय रोशन जिम्बाले सुनाए । दैनिक एक सय बढी बस चल्ने पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर चोक सुनसान छ ।

गाडी चल्दा निकै भीडभाड हुने चोक अहिले सुनसान भएको चन्द्रपुर बस काउन्टरका कर्मचारी रामबाबु चौधरीले जानकारी दिए । गाडी बन्द भएपछि आफ्नो रोजीरोटीमा समेत धक्का पुगेको चौधरीले बताए । रौतहट बस व्यवसायी संघका अध्यक्ष लालाबाबु गिरीले माथिबाट बस चलाउन भनेर कुनै किसिमको जानकारी नआएकाले बन्द गर्नुपरेको बताए ।

अनुप पौडेल (कास्की), हरिराम उप्रेती (गोरखा), रञ्जना बीसी (कैलाली), सन्जु पौडेल (लुम्बिनी), रामप्रसाद चौहान (बर्दिया), तर्कराज भट्ट (डडेल्धुरा), विद्यानन्द राम (राजविराज), राकेश नेपाली (उदयपुर), शिव पुरी (रौतहट)

कान्तिपुर

Link copied successfully