रवि लामिछाने भैरहवाबाट डिल्लीबजार कारागार स्थानान्तरण* हुँदै

जेष्ठ २०, २०८२

घनश्याम गौतम

Ravi Lamichhane from Bhairahawa to Dillibazar Jail via transfer*

बुटवल — बुटवलको सुप्रिम सहकारी ऋण तथा बचत सहकारी संस्थाको रकम अपचलन मुद्दामा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले कारागार स्थानान्तरणका लागि आग्रह गरेका छन् । उनको आग्रहपछि कारागार प्रशासन र अदालतले प्रक्रिया अघि बढाएको छ ।

सरुवाका लागि लामिछानेले जिल्ला अदालत, रुपन्देहीबाट अनुमति लिएपछि कारागार प्रशासनले जिल्ला प्रशासनको स्वीकृति पनि लिइसकेका छन् । स्रोतका अनुसार कारागार प्रशासनले सबै प्रक्रिया पूरा गरेर निर्णयका लागि कारागार व्यवस्थापन विभागमा पठाएको छ ।

विभागको निर्णयपछि मात्र सरुवा हुने कारागार प्रमुख सुरेश भण्डारीले बताए । ‘अहिले नै कुनै निर्णय भएको अवस्था होइन,’ उनले भने, ‘कारागार विभागबाट सरूवाको निर्णय भएपछि मात्र प्रक्रिया अघि बढला ।’ लामिछाने काठमाडौंको डिल्लीबजार कारागारमा जान चाहेका छन् । डिल्लीबजार कारागार 'भीआईपी' कैदीहरूको रोजाइमा पर्ने गर्छ । 

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको कसुरमा उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई २०८१ चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।जिल्ला अदालत रूपन्देहीले १३ माघ २०८१ मा एक करोड रुपैयाँ धरौटीमा छाड्न गरेको आदेश बदर गरेपछि लामिछाने थुनामा छन् ।

सर्वोच्च अदालतले समेत थुनामै राख्ने आदेश भएपछि लामिछानेले सरुवाको चाहना राखेका हुन । लामिछानेको बुधबार भैरहवाबाट सरुवा हुन सक्ने जिल्ला प्रशासन स्रोतले बतायो ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully