वाईसीएललाई 'जुझारु दस्ता' बनाउने प्रस्ताव

जेष्ठ २०, २०८२

कान्तिपुर संवाददाता

Proposal to make YCL 'Jujharu Dasta'

काठमाडौँ — माओवादीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) लाई ‘जुझारु दस्ता’ का रूपमा परिणत गरिने भएको छ । माओवादी शान्ति प्रक्रियामा आएलगत्तै संरचना बनाएर अघि बढाउने राष्ट्रिय सम्मेलनमा एकमत भएको छ । 

सोमबारदेखि जारी सम्मेलनमा बोल्ने प्रतिनिधिले वाईसीएल जुझारु दस्ताका रूपमा परिणत गर्ने बताएका हुन् । माओवादी केन्द्रीय सदस्य एवं वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटाले शान्ति प्रक्रियापछि पुरानै कार्यशैलीमा वाइसीएललाई फर्काउने एक मत आएको बताए ।

‘शान्ति प्रक्रियापछिको जस्तो संगठन, आजको जस्तो गतिमा परिणत गर्न मत आएको छ,’ उनले भने, ‘अब वाईसीएल संघीयता, गणतन्त्रको पक्षमा जुझारु भए उभिने छ ।’ उनले गणतन्त्र र नेताहरूमाथि प्रहार भइरहेको भन्दै त्यसको प्रतिवाद गर्न वाइसीएलले आफ्नो कार्यशैली बदल्ने बताए । 

Proposal to make YCL 'Jujharu Dasta'काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी बन्दसत्रमा समूह नेताहरूले विगतमा वाईसीएल शान्त पोखरीजस्तो भएको भन्दै लडाकु प्रकृतिको बनाउन धारणा राखेका थिए । 

सम्मेलनको उद्‍घाटन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘आइलागे जाइलाग्न’ भन्दै  जुझारु भएर अघि बढ्न निर्देशन दिएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि पनि देशभर वाईसीएलको 'धङधङी' थियो । काठमाडौंमा व्यवसायी, अन्य दलका राजनीतिकर्मी, गुण्डागर्दी गरिरहेका व्यक्ति, ठकेदारलाई नियन्त्रणमा लिएर आफूखुसी कारबाही गरेको थियो । त्यसबेला वाईसीएलको गतिविधिको विरोध भएको थियो ।

काठमाडौका विभिन्न ठाउँमा क्याम्प जमाएर बसेका वाईसीएलका कार्यकर्ताले छुट्टै ‘राज्य’ चलाएको भन्दै कांग्रेस एमालेले विरोध गरेको थियो । माओवादीले सरकारको नेतृत्व गरेपछि भने वाईसीएल विस्तारै शान्तिपूर्ण संगठन निर्माणमा लागेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully