काठमाडौँ — कान्तिपुरकर्मी राजु चौधरी उत्कृष्ट कृषि पत्रकारबाट सम्मानित भएका छन् । नेपालमा कृषिको महत्वपूर्ण हिस्साका रुपमा रहेको दुग्ध क्षेत्रको संरक्षण तथा प्रवर्द्धनमा खोज पत्रकारिताको माध्यमबाट लामो समयदेखि अनवरत रुपमा पुर्याएको योगदानको कदर गर्दै डेरी उद्योग संघले चौधरीलाई ‘दशकका उत्कृष्ट कृषि पत्रकार’का रुपमा सम्मान गरेको हो ।
विश्व दूध दिवसको अवसरमा मंगलबार आयोजित डेरी उद्योग संघको १६औं वार्षिक साधारणसभामा प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले चौधरीलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् ।
सो अवसरका चौधरीसहित टक्सार म्यागजिनका किरण आचार्य, गोरखापत्र दैनिकका सुरेश यादव, क्लिकमाण्डु डट कमका राजेश बर्मा र न्युज २४ का नवराज चालिसे पनि सम्मानित भएका छन् ।
कार्यक्रममा कृषिमन्त्री अधिकारीले दुग्ध किसानको बक्यौक्ता अझै ५ अर्ब बाँकी रहेकाले डेरी उद्योगी र दुग्ध विकास संस्थान जिम्मेवार हुनुपर्ने बताए । किसानलाई समयमै भुक्तानी दिन र जिम्मेवारीबाट नपन्छिन पनि मन्त्री अधिकारीले निर्देशन दिए ।
