काठमाडौँ — सरकारसँग सहमति गरे पनि यातायात व्यवसायीले सार्वजनिक यातायात बन्द गरेपछि त्यसको मार उपचारका निम्ति अस्पताल जाने र अस्पतालबाट डिस्चार्ज भएर घर फर्किनुपर्ने विपन्न नागरिकलाई परेको छ । यस्तै मर्कामा थिइन्, कालमाटीमा डेरा गरी बस्ने १८ वर्षीया संगीता बिक ।
मंगलबार मध्याह्न उनी थापाथलीस्थित परोपकार प्रसूति गृहको गेट छेउमा थिइन् । उनको काखमा थियो, दुई दिने नवजात शिशु । उनका श्रीमान् भने ट्याक्सी खोज्न एक घन्टाअघि हिँडेका थिए तर फर्केका थिएनन् । अस्पतालको गेट बाहिर एक दर्जनजति मोटरसाइकल र केही ट्याक्सीहरु थिए । अरु बेला राइड सेयरिङ एपमार्फत सेवा दिने तिनीहरुमध्ये धेरैजसो अफलाइनमा यात्रु बोक्न मोलतोल गरिरहेका देखिन्थे ।
संगीताले भनिन्, ‘डेरासम्म कसरी जाने भन्ने पनि टुंगो लाछैन् । डिस्चार्ज नभएको भए यही अस्पतालमा बस्न हुन्थ्यो ।’
दुई दिनकी सुत्केरी संगीतालाई कति बेला डेरा पुग्न पाइएला र आराम होला भनेजस्तो भइरहेको थियो । तर अस्पतालबाट सजिलै साधन खोजेर डेरासम्म जान सक्ने अवस्था थिएन । प्रसूति गृहको प्रांगणमा उनीजस्तै डिस्चार्ज भएका कैयन सुत्केरीहरु थिए, जसका आफन्ती वा परिवारजन श्रीमान् गाडी खोज्न अस्पतालबाहिर निस्केर पनि फर्केका थिएनन् ।
अस्पतालबाट डिस्चार्ज हुनेको मात्रै यस्तो समस्या थिएन । अस्पतालसम्म जेनतेन आएका पनि सार्वजनिक यातायात बन्दको मर्काबाट पीडित थिए । जमलमा डेरा गरी बस्ने सिर्जना अर्याल बिहानै प्रसूति गृह आउनैपर्ने थियो । किनकि उनलाई डाक्टरहरुले मंगलबार नै डेलीभरीको डेट दिएका थिए । तर डेराबाट अस्पताल आउनै उनलाई सास्ती भयो ।
अनलाइनमा कुनै सवारी नभेटिने, सडक छेउछाउमा भेटिएका ट्याक्सीले चर्को भाडा भन्ने । धेरैबेर यताउती भौतारिएपछि उनी ५ सय रुपैयाँ तिरेर प्राइभेट कारमा अस्पताल आएको बताइन् । भनिन्, ‘अरु दिन तीन सय भाडा तिरे पुग्थ्यो । आज झण्डै दोब्बर तिर्नुपर्यो ।’
सोमबार मध्यरातमा संघीय सरकार र राष्ट्रिय यातायात व्यवसायी महासंघबीच ‘राइड सेयरिङ’ नियमावली स्थगित गर्ने विषयमा गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति भए पनि यातायात व्यवसायीले मंगलबार पनि सार्वजनिक सवारी साधन नचलाएका हुन् । गण्डकी प्रदेशमा ५ दिनदेखि सार्वजनिक यातायात अवरुद्ध छ भने अन्य प्रदेशमा दुईदिनदेखि सार्वजनिक यातायात ठप्पै भएको छ ।
