काठमाडौँ — भोलि हुने भनिए पनि यातायात व्यवसायी र सरकारबीच आजै तेस्रो चरणको वार्ता सुरु भएको छ । गृहमन्त्री रमेश लेखकको निर्देशनपछि आजै दुई पक्षबीच तेस्रो चरणको वार्ता सुरु भएको हो ।
सरकार र यातायात व्यवसायीबीच भएको दुई चरणको वार्ता निष्कर्षविहीन भएपछि पुनः मंगलबार बिहान साढे १० बजे बैठक बस्ने भनिएको थियो ।
‘आजको दुई चरणको वार्तामा कुनै सहमति नभएपछि हामी भोलि बैठक बस्ने भनेर निस्किएका थियौं,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले भने,’ गृहमन्त्रीको फोन आयो त्यसपछि हामी फेरि बैठकमा बसेका हौँ ।’
स्वाँरका अनुसार सरकारी वार्ता टोली बैठकहलबाट निस्किसकेको थियो भने, यातायात व्यवसायीले पनि विज्ञप्ति निकालेर भोलि पनि बन्द निरन्तर रहेको जानकारी दिने तयारीमा थिए ।‘ गृहमन्त्रीले तपाईंहरु बैठक नछाड्नुस्, म सरकारी वार्ता टोलीलाई पनि पुन: बैठकमा जानू भन्छु भन्नुभयो,’स्वाँरले भने,‘ गृहमन्त्रीले यो विषय आज नै राजनीतिक रूपमा हल गर्नुपर्छ भन्नु भएको छ ।’
यसअघिको बैठकले ६ बुँदामा सहमति नजिक पुगे पनि मुख्य मागमा भने सहमति जुट्न सकेको थिएन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन भएको सरकारी वार्ता टोली र यातायात व्यवसायीबीच बिहान गृहमन्त्रालयमा ८ बजे देखि १० बजेसम्म र साढे दुई बजेदेखि ८ बजेसम्म दुई चरणमा वार्ता भएको थियो । यातायात व्यवसायी यसबीचमा मुख्य सचिव टेकनारायण अर्यालसँग पनि एक घण्टा वार्तामा बसेका थिए ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएपछि यातायात व्यवसायीहरू ७ बुँदे मागसहित आन्दोलनमा छन् । यातायात व्यवसायीले सरकारसँग धेरैपटक छलफल र संवाद हुँदा पनि समस्याको हल नभएपछि सार्वजनिक यातायात बचाउ संघर्ष समिति नै गठन गर्न बाध्य भएको बताउदै आएका छन । उनीहरूले गण्डकी प्रदेशमा चार दिनदेखि सार्वजनिक यातायात ठप्प पार्दै आएका छन् भने सोमबारदेखि देशभरका यातायात ठप्प पारेका छन् ।
