‘जिन्दगीलाई ढाकरमा बोकेर’ गए रसिक

जेष्ठ १९, २०८२

दीपक सापकोटा

Rasik went 'carrying his life on a blanket'

काठमाडौँ — गणेश रसिक (२००४-२०८२) ले गीत ‘याङ्जी नाना’ मा भनेका छन्– मरणशील जीवन यस्तै छ याङ्जी नाना...। ‘मरणशील जीवन’ माथि चिन्तन–विमर्श गरिबस्ने लेखक, गायक एवं संगीतकार रसिक आइतबार यस भौतिक संसारबाट बसाइँ सरेका छन् ।

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । केही वर्षदेखि प्रोस्टेट क्यान्सरबाट पीडित रसिक कमलो भाषामा जीवनका स्मृति–भूगोलका भावुक कथा लेखिबस्थे । 

रसिक गीतमा गाउँले जीवन र तिनका कहानी सुनाइहिँड्थे । उनका पुराना मित्र गायक तथा संगीतकार दीप श्रेष्ठलाई सोध्दा, उनी रसिक–स्मृति लहरमा मग्न भए । रसिकको गीत ‘कति दिन बाँच्नु यो हुस्सुले छोपेको सहरमा’ दीपलाई असाध्यै प्रिय छ । आफ्नै गीतले भनेझैं ‘हुस्सुले छोपेको सहरबाट’ बिदा भएका रसिकमाथि सुन्दर टिप्पणी छ दीपको, ‘कसैलाई कहिल्यै नबिझाउने स्वभाव थियो रसिक दाइको, कसैप्रति केही गुनासो पनि थिएन, शिष्ट र भलाद्मी हुनुहुन्थ्यो दाइ ।’ 

दीपको विचारमा रसिक एक प्रतिष्ठित गायक, गीतकार, संगीतकार हुन् । ‘उहाँको संगीत असाध्यै मौलिक थियो, त्यसमा नेपालीपन र गाउँले सुगन्ध थियो,’ उनी भन्छन्, ‘लेकाली समूहमा उहाँको विशिष्ट सक्रियता थियो । उहाँका गीतमा गाउँको कथा थियो, संगीत पनि थियो आफ्नै ढाँचाको । गाउँ र गाउँहरू सम्झाउन उहाँका गीत/संगीत काफी छन् ।’

सधैं सिर्जनशील समय बाँचे रसिक । गाउँ–सहरहरू डुल्दै र गीत गाउँदै रसिकले जीवनका धेरै जवानी बिताए । तर, शरीरमा क्यान्सर प्रवेशपछिका जीवनका आखिरी दिनहरू कष्टमय रहे । एक हिसाबले आखिरी दिनहरूमा काठमाडौं महानगरीमा उनले एकलकाँटे जीवन बाँचे, जहाँ पारिवारिक वियोगले थलिएका रसिकको जिन्दगीबाट रस गायब भएको थियो । 

कहिल्यै कतैको पनि स्थायी थातथलोका बासिन्दा रहेनन् उनी, जो भन्थे, ‘यो जीवन नै स्थायी छैन, त्यसैले मेरो पनि स्थायी ठेगाना छैन ।’ कहिले भोजपुर, कहिले काठमान्डु, कहिले इलाम थियो उनको ठेगाना । ठेगाना बदलिइरहेका उनी आइतबार संसारबाटै अदृश्य ठेगानामा पुगे । 

जीवनका उकाली–देउरालीहरूमा उनी साहित्य, गीत र संगीतमा साधनारत रहे । रसिकको एउटा संस्मरण किताब छ– ‘जब सिस्नुहरू टेक्दै हिँडें’ । उनले ‘कान्तिपुर–संवाद’ मा पंक्तिकारसँग भनेका थिए, ‘म जीवनैभर सिस्नुहरू टेक्दै हिँडें । सधैं पोलिरह्यो पैताला, मन र मुटु ।’

उनी देखिन्थे– केही विचलित र अशान्त । जिन्दगीभर वियोग र वियोगका अनेक शृंखलाहरू भोगेका रसिक उत्तरार्द्धमा अत्यन्तै निराश थिए । उनले पारिवारिक दुर्घटना बेहोरिरहे । ती दुर्घटना र आफूले गुमाएका प्रियजनका वियोगहरूले उनी अत्यन्तै दुःखमा थिए । ०७८ को कात्तिकमा श्रीमती नीरा शेरचनको पनि महाप्रस्थानपछि उनी एक्लो, केवल एक्लो भएका थिए । 

लगालग आफन्तहरूले छाडी जानुले रसिकलाई कहिल्यै बिसेक नहुने घाउ छाडी गएको थियो । ती घाउहरूका सम्झनाले विचलित थिए उनी । प्रोस्टेट क्यान्सर अर्थात् महाव्याधि अर्बुदको चौथो चरणमा नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि, ललितपुर गइरहनु र आइरहनुले उनी झन् गलेका देखिन्थे । भनेका थिए, ‘अब त निकै गलें नि, भाइ ! खुट्टा दुख्छ, ढाड दुख्छ । कुनै चीज गर्नै मन लाग्दैन । सधैं मृत्युचिन्तन आइरहन्छ ।’ 

अन्तर्वार्तामा उनले पटक–पटक ‘मृत्युचिन्तन आइरहन्छ’ लाई जोड दिएका थिए । प्रोस्टेटपछिको रसिकको दैनिकी पूरै बदलिएको थियो । अस्पताल–घर–औषधि र ओछ्यान नै थियो उनको जीवन र जमिन । 

भोजपुर, छिनामखुमा २००४ मा जन्मेका रसिक थिए– लाहुरे संस्कृति–संस्कारमा हुर्केका । ‘लेकाली’ र ‘राल्फा’ समूहमा गीत गाउँदै उनी जीवनबोध गर्थे । ‘ओ याङ्जी नाना,’ ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘रातो भाले क्वायाँ क्वायाँ’ हरू उनका कालजयी गीत हुन् ।

‘क्षितिजलाई छुन खोज्दा (कथासंग्र्रह), ‘रसिकका गीतहरू’ (गीतसंग्रह), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास), ‘दशगजामा उभिएर’, ‘जब सिस्नुहरू टेक्दै हिँडें’, पाँच पुस्तकको ‘पेरुङ्गो’ (संस्मरण) लगायत रसिकका प्रकाशित किताब हुन् । क्यान्सर पीडाले दुखाइरहेका बेला उनले भनेका थिए, ‘भाग्यमानीहरू छिट्टै परलोक जान्छन् रे, त्यसो भए जो म बाँचेको छु, म अभागी हुँ त ?’

अनन्त यात्रामा गएका परिवारका सदस्य सम्झँदै उनले जीवन–बोध गरेका थिए, ‘तिनीहरूकै सम्झनाले बाँचेको छु ।’ उनका छोरा निमेशको निधन भएको थियो– २०६७ मंसिरमा । रसिकले भनेका थिए, ‘सिरानीबाट भुइँतिर टाउको लत्रिएको थियो छोराको । भुइँमा सुक्दै गरेका रगतका थोप्ला थिए... ।’ 

छाडी जाने प्रिय तीन भाइको सम्झनामा ‘दशगजामा उभिएर’ संस्मरण–संग्रहमा रसिकले लेखेका छन्, ‘सबैले अकाल मृत्युवरण गरे । ती थिए– मैले काँधमा बोकी हुर्काएका वंश, आस्था र प्रेमका तीन चुलो ढुंगा ।’ 

रसिकलाई ‘जीवन सपनाजस्तो’ लाग्थ्यो । ‘डेथ–बेड’ बाट ‘कान्तिपुर–संवाद’ मा उनले मरणपछिको इच्छा सुनाएका थिए, ‘म मरेपछि मलाई एकेडेमीको त्यो आँगनमा झिँगा भन्काएर नराख्नू, लासमाथि सेल्फी खिच्न नदिनू । गुमनाम तरिकाले लैजानू मेरो लास । आर्यघाटमा लैजानू र मेसिनमा हाल्दिनू । सक्छौ भने मेरो अस्तु भोजपुरमा लगेर राखिदिनू– श्रीमती र छोराको चिहानसँगै ।’

पल्टनमा नछानिएपछि गीत–संगीततिर मोडिएका थिए रसिक । २०२६ देखि राष्ट्रिय नाचघरमा काम गरेका उनी २०४० मा सांस्कृतिक संस्थानको महाप्रबन्धक पनि भए । इलाम १ बाट २०५१ को मध्यावधि चुनावमा उठे । प्रतिस्पर्धी थिए– एमालेका नेता झलनाथ खनाल र कांग्रेसका बेनुपराज प्रसाईं । रसिक र झलनाथले हारे । चुनाव जिते– प्रसाईंले । त्यसपछि उनले राजनीति छाडे । 

संगीतमा नलागेको भए आत्महत्या गरिसक्थें भन्ने रसिकको ‘याङ्जी नाना’ गीतले भन्छ– ‘तिम्रो रिन्जी हिमाल चढ्दा/मर्‍यो भनी नसम्झ !/ऊ त तिम्रो चौंरी गोठमा/कुहिरोसँगै उड्दै–उड्दै आइरहेछ... ।’ टुङ्नाको भाका, चौंरीको हाँच, हरियो नांगी, धुपीको जंगल बयान गर्दै याङ्जी नानालाई रसिकले भनेका छन्– कति राम्रो छ तिम्रो गाउँ/तिमीले यी सबै हेर्दै बाँच्नुपर्छ ।

हिमालमै जीवन बिसाउने साहसी आरोहीप्रति समर्पित यो गीतले शिखर–सपनाको पछिपछि हिँडिरहेका पर्वतारोहीलाई अथाह सम्मान व्यक्त गरेको छ । पति गुमाएका महिलालाई जीवनको महत्ता सम्झाइरहेको गीत हिमाल र पर्वतारोही रहेसम्म गुन्जिरहनेछ । गीत रहेसँगै रसिक पनि गुन्जिने छन् ।

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully