काठमाडौँ — पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताब आलमको स्वास्थ्य सुधार हुँदै आएको छ । काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत आलमको पछिल्लो स्वास्थ्य अवस्थामा सुधार आएको परिवारका सदस्यले जानकारी दिएका छन् । आलमलाई आईसियू कक्षबाट वार्डमा सारिएको छ ।
गत शुक्रबार बिहान अचानक बोली जानुका साथै शरीरको भाग कमजोर भएपछि आलमलाई अन्नपूर्ण न्युरो अस्पतालको आईसियू कक्षमा भर्ना गराइएको थियो । अस्पतालले जाँचपछि मस्तिष्कघात भएको पुष्टि गरेको थियो । उपचारपछि स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुँदै आएको आलमका भाइ महताब आलमले जानकारी दिए ।
‘हामी थप उपचारको लागि दिल्ली लैजानको लागि चिकित्सकसित परामर्श गरिरहेका छौँ,’ उनले भने, ‘अहिले स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ । दाइलाई अझै केही समय उपचारको जरुरी छ ।’ आलमलाई आईसियू कक्षबाट वार्डमा सारिएको छ । कारागारमा रहँदा विभिन्न खाले रोगले ग्रस्त आलमको शरीर पूर्ण रूपले गलेको छ । अहिले अस्पतालमा परिवारका सबै सदस्यहरू छन् ।
पहिलो संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा परेका घाइतेलाई जिउँदै चिम्नभट्टा हालेको आरोपमा जन्मकैदको सजाय पाएका पूर्वमन्त्री आलमसहित चार जनालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले यही बुधबार सफाइ दिएको थियो । त्यसलगत्तै उनी नख्खु र भाइ महताब गौर कारागारबाट छुटेका थिए । आलमका दाजुभाइसहित शेख सराज र बद्री सहनीले पनि सफाइ पाएका छन् ।
