यातायात व्यवसायीसँग वार्ता गर्न सरकारद्वारा १० सदस्य कमिटी गठन

जेष्ठ १९, २०८२

कान्तिपुर संवाददाता

A 10-member committee has been set up by the government to negotiate with the transport industry

काठमाडौँ — गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा यातायात व्यवसायीहरूको बैठक बसेको छ । बिहान साढे ८ बजे बसेको बैठकले यातायात व्यवसायीहरूको समस्या समाधान गर्नका लागि पूर्वाधार निर्माण तथा यातायात महाशाखाका सह–सचिव इन्जिनियर कृष्णराज पन्थको नेतृत्वमा १० सदस्य वार्ता समिति समेत गठन गरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारका अनुसार वार्ता कमिटीमा सरकारका तर्फबाट ७ र यातायात व्यवसायीका तर्फबाट ४ जना सहभागी छन् । बैठकमा मुख्यसचिव, भौतिक पूर्वाधारका सचिव, प्रहरी प्रमुखकोसमेत सहभागिता रहेको थियो । 

‘बैठकलाई उहाँहरुले गम्भीरतापूर्वक लिनुभएको छ,’ स्वारले भने, ‘हाम्रो बटमलाइन गण्डकी प्रदेश सरकारले संविधानविपरीत ल्याएको राइड सेयरिङ नियमावली स्थगित गर्नु पर्छ । र यतायत व्यवस्था सम्बन्धी संघीय ऐन बन्दै छ त्यो ऐन अनुसार अघि बढ्नु पर्छ भन्ने हो ।’ उनका अनुसार अहिले साढे १ बजे फेरि बैठक बस्दै छ । ‘हाम्रा मुख्य माग पूरा भएपछि हामी आन्दोलनबाट पछि हट्छौं,’ उनले भने,‘प्रदेश सरकारले आफ्नो नियमावली स्थगन गर्नु पर्यो हामी पनि आन्दोलन स्थगन गछौं ।’

यो आन्दोलनलाई नै यातायात व्यवसायीको अन्तिम आन्दोलन बनाउनु पर्ने र कहिल्यै आन्दोनल गर्नु नपर्ने गरेर समस्या हल हुनुपर्ने स्वार बताउँछन् । ‘सर्वोच्च अदालतले कानुन बनाउन भनेको छ । अब सार्वजनिक यातायातमा कहिल्यै आन्दोलन नहोस्,’ स्वारले भने, ‘कामिटीको बैठक अहिले पुन: साढे १ बजे बस्दैछ ।’

गण्डकी प्रदेश सरकारले संविधानविपरीत राइड सेयरिङ नियमावली ल्याएको भन्दै यातायात व्यवसायीले ७ बुँदे मागसहित सोमबार देशैभरीका सार्वजनिक यातायात चलाएका छैनन् ।

कान्तिपुर

Link copied successfully