शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न अध्यक्ष लिङ्देनको चेतावनी

जेष्ठ १८, २०८२

कान्तिपुर संवाददाता

President Lingden's warning not to consider the peaceful movement a weakness

काठमाडौँ — राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरूको शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिएका छन् । आइतबार काठमाडौंमा प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशले थप द्वन्द्व थेग्न नसक्ने भएकाले विद्रोहको बाटो नअपनाइएको स्पष्ट पार्दै आफूहरूको भद्रतालाई कमजोरी नठान्न चेतावनी दिएका हुन् । 

'देशले थप द्वन्द्व थेग्न सक्दैन भनेर हामीले विद्रोहको बाटो नरोजेको हो । हामीले शान्तिपूर्ण प्रदर्शन गरेको हो । एक जना प्रहरी मर्नु नपरोस्, एक जना पनि नागरिक मर्नु नपरोस् भनेर हामीले शान्तिपूर्ण बाटो अपनाएको हो । यसलाई कमजोरी नठानियोस्,' अध्यक्ष लिङ्देनले भने । 

आफूहरूको भद्रतालाई कमजोरी ठानेर दलहरूले लुटिराखेको पनि उनले बताए ।'आज दुईचार हजार युवा बन्दुक बोकेर जंगल पस्न छैनन् होला त यो अभियानमा ? हामीले दुई/चार ठाउँ तोडफोड गर्न सक्दैनौँ होला त ? हामीले त्यो चाहेकै छैनौँ । तर यही हाम्रो भद्रतालाई कमजोरी ठानेर देश तपाईले लुटिराख्नुहुन्छ, बर्बाद पारिराख्नुहुन्छ ? आफ्ना मान्छेहरुलाई जोगाउने र अरुलाई फसाउने काम गर्नुहुन्छ । इँटाभट्टामा जिउँदै मान्छे जलाउनेलाई अदालतको नाममा छाडेको कुरा हामीलाई मात्रै होइन हामीसँगै बसेको प्रहरीलाई पनि थाहा छ,' उनले भने ।

उनले राप्रपा, नेपालका अध्यक्ष कमल थापालाई ससम्मान नियन्त्रणमुक्त गर्न समेत माग गरेका छन् । आइतबार काठमाडौंमा प्रदर्शनका क्रममा प्रहरीले थापालाई नियन्त्रणमा लिएको छ । 

कान्तिपुर

Link copied successfully