‘कोशी कोलोनी’ कब्जामा लिएको भन्दै ७५ जनाविरुद्ध भारतले दियो उजुरी

जेष्ठ १८, २०८२

विद्यानन्द राम

India filed a complaint against 75 people for occupying 'Koshi Colony'

राजविराज — गैरकानुनी रूपमा नेपाल सरकारको ५५ लाखभन्दा बढी बजेट खर्च गरिएको भारतीय ‘कोशी कोलोनी’ कब्जामा लिएको भन्दै ७५ जनाविरुद्ध उजुरी परेको छ।

बिहार सरकारको जल संशोधन विभागले गरेको निर्देशन बमोजिम पश्चिमी कोशी नहर प्रमण्डल कुनौली, बिहारले कानुनी कारबाहीको माग गर्दै उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएको हो।

चलानी नम्बर ५९८ उल्लेखित सन् २०२५ मे ९ (२०८२ वैशाख २६) मा दिएको उजुरीमा भारत सरकारले जग्गा अधिग्रहण गरेर सप्तरीको विष्णुपुर गाउँपालिका–६ रञ्जितपुरस्थित पश्चिमी कोशी नहरका कर्मचारीको आवासका लागि ‘कोलोनी’ बनाएको जनाएको छ । तर, स्थानीयले स्थायी रूपमै ‘कोलोनी’ कब्जा गर्दा कर्मचारीलाई बस्न तथा नहर सञ्चालन गर्न समस्या भइरहेकोले खाली गराइदिन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ गरिएको उजुरीमा सी–१ र सी–२ का भवन कब्जा गरेर बसेका स्थानीयले आफ्नो निजी पक्की घर समेत बनाइसकेको उल्लेख गरिएको छ भने डी ब्लकका ४ वटा, ई ब्लकका ७, एफ ब्लकका २३, एच ब्लकका ४ र आई ब्लकका ३६ वटा गरी कूल ७६ वटा आवाससहित निरीक्षण भवन र ‘कोलोनी’ परिसर स्थानीयले कब्जा जमाएको उल्लेख छ ।

‘गैरकानुनी रूपमा अतिक्रमण गरी स्थानीयले कोलोनी नै कब्जा गर्दा नहरको काम प्रभावित हुँदै आएकोले कानुनी कारबाहीको लागि आग्रह गर्दछु’, पश्चिमी कोशी नहर प्रमण्डल कुनौलीका कार्यकारी इन्जिनियर युवराज अमनले दिएको उजुरीमा उल्लेख रहेको छ ।

विसं २०११ वैशाख १२ मा भएको कोशी सम्झौताअनुसार भारतले नहरसहितका गरी ५ सय ९९ बिघा १८ कट्ठा ८ धुर जग्गा अधिग्रहण गरेको छ । उक्त जग्गामै कर्मचारीका लागि भारतले बनाएको ‘कोलोनी’ मा केही वर्षयता स्थानीयले कब्जा जमाएर बसेका छन् ।

सोही कोलोनीमा चालु आर्थिक वर्षमा गाउँपालिकाले पनि गैर कानुनी रूपमा संघीय सरकारको सशर्त अनुदानबाट ५५ लाख ८२ हजार रुपैयाँ खर्च गरेर ४ सय ५० मिटर ढलान सडक बनाएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले उक्त जग्गामा रहेको अतिक्रमण हटाउने विषयमा समन्वय भइरहेको बताए ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully