मनसुनजन्य विपद्को पूर्वतयारी चुस्त बनाउन स्थानीय तहलाई सरकारको परिपत्र

जेष्ठ १८, २०८२

रासस

Government's circular to the local level to prepare for monsoon disasters

काठमाडौँ — सरकारले गृह मन्त्रालयबाट जारी भएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ कार्यान्वयन गर्दै मनसुनजन्य विपद्को पूर्वतयारीलाई चुस्त बनाउन देशभरका पालिकालाई परिपत्र गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट स्वीकृत राष्ट्रिय कार्ययोजना, २०८२ को छायाँप्रति साथमा राखेर सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई परिपत्र गरेको हो ।

मन्त्रालयका शाखा अधिकृत सन्तोषकुमार खत्रीले यस वर्षको मनसुनमा अत्यधिक वर्षा हुने प्रक्षेपण भएकाले मनसुनजन्य विपद् न्यूनीकरणका लागि उल्लिखित कार्ययोजनामा स्थानीय तहको जिम्मेवारीभित्र पर्ने विषयमा मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी कार्य कार्यान्वयन गर्न र गराउन भन्दै परिपत्र जारी गरिएको बताउनुभयो । स्थानीय तहलाई पालिकास्तरीय मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी लागू गर्न र त्यसको जानकारी मन्त्रालयलाई गराउन, स्थानीय समुदायलाई मनसुनजन्य विपद्प्रति जागरुक बनाउन तथा जनचेतना अभिवृद्धि गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न भनिएको खत्रीले उल्लेख गरे । 

परिपत्रमा मनसुनजन्य विपद्को अवधिमा आवश्यक पर्ने खोज, उद्धार तथा राहत सामग्रीहरूको व्यवस्थापन तथा प्रतिकार्यका लागि नगर प्रहरीलाई आवश्यक साधनस्रोतसहित तयारी अवस्थामा राख्न र पालिकामा रहेका स्वयंसेवकहरू परिचालन गर्न पनि भनिएको छ । 

यस्तै, पूर्वतयारी तथा प्रतिकार्यका लागि सरकारी, गैरसरकारी, निजी तथा मानवीय क्षेत्रमा कार्य गर्ने संघसंस्था, स्थानीय समुदाय तथा स्वयंसेवकहरूसँग सहकार्य र समन्वय गर्न तथा मनसुन अगावै सहर, बस्तीका ढल सफा गर्न, खोला नालामा थुप्रिएका गेग्र्यान हटाउन तथा पानी निकास खोल्न पनि अनुरोध गरिएको छ । 

स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई सक्रिय बनाई प्रभावकारी मनसुन प्रतिकार्यका लागि पालिकास्तरमा मनसुन प्रतिकार्य ‘कमान्ड पोष्ट’ स्थापना गरी प्रभावकारी सञ्चालन, मनसुन पूर्वसूचना प्रणालीको विकास तथा मनसुनका समयमा हुने कालोबजारी, कृत्रिम अभाव र आपराधिक घटना नियन्त्रणमा सक्रिय हुन पनि भनिएको छ ।

रासस

Link copied successfully