ताप्लेजुङ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीमा युवा महामन्त्रीहरूले जिम्मेवारी पूरा गर्न नसकेको बताएका छन्।
उनले पार्टीको केन्द्रीय समितिको बैठक १० महिनादेखि नबसेको भन्दै पार्टी अवैधानिकरुपमा सञ्चालन भइरहेको आरोप लगाए।
नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष एवं पार्टीको शिक्षा विभागका प्रमुखसमेत रहेका नेता महरले शनिबार ताप्लेजुङमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टीले फेरि पनि विधानले तोकेको समयबमोजिम महाधिवेशनसमेत गर्न नसक्ने स्थिति रहेको बताए।
'पार्टीमा युवा महामन्त्रीहरू हुनुहुन्छ। तर नेपाली काग्रेसले विधानबमोजिम काम गर्न सकेको छैन। महामन्त्रीजीहरूले पनि जिम्मेवारी पूरा गर्न सक्नुभएको छैन,' उनले भने, 'पदाधिकारीक बैठकको निर्णयले पार्टी चल्दैन। त्यो संरचनालाई विधानले चिन्दैन। केन्द्रीय समितिको बैठक १० महिनादेखि बसेको छैन,' उनले भने।
नेता महरले पार्टीको कार्यशैली र व्यवहारमा परिवर्तन ल्याउनुपर्ने बताए। नेता महरले सरकारले ल्याएको बजेटले जनतामाझ आशा जगाउन नसकेको बताए। 'बजेटमा थुप्रै कमजोरी छन्। यो दुईतिहाइको सरकारको स्पिरटबमोजिम छैन,' उनले भने,'ठूला दुई वटा दलहरू मिलेर बनेको सरकारले यस्तोमात्रै बजेट ल्याएर पुग्दैन।'
शिक्षा क्षेत्रमा २० प्रतिशत विनियोजन गर्न माग गर्दै आएको भन्दै उनले सरकारले ११ प्रतिशत बजेट समेत शिक्षालाई नदिएको प्रति असन्तुष्टि जनाए।
