चालु वर्षको तुलनामा २५ अर्ब ३७ करोड बढी
काठमाडौँ — सहरी विकास मन्त्रालयको बजेट ठूलो आकारमा वृद्धि गरिएको छ, जसले गर्दा चालु आर्थिक वर्षमा जस्तै टुक्रे योजना राखेर बजेट बढाइएको हुन सक्ने पूर्वसचिवहरूले आशंका गरेका छन् । उक्त मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा १ लाखका योजना मात्र सय हाराहारी छन् । त्यही नियति आगामी आर्थिक वर्षमा पनि दोहोरिने जोखिम रहेको पूर्वसचिव अर्जुनजंग थापाले बताए ।
‘अहिले संघको बजेटमा साना टुक्रे योजना नराख्ने भनिएको छ,’ उनले भने, ‘तर बजेट बढाएका कारण टुक्रे योजना राखिएको हुन सक्छ ।’ त्यस्तो गरिएको भए त्यो गलत भएको उनले सुनाए । सहरी विकास मन्त्रालयका लागि चालु वर्षमा ९२ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएको छ । तर आगामी वर्षका लागि बजेट बढाएर १ खर्ब १८ अर्ब रुपैयाँ पुर्याइएको छ, जुन चालु वर्षको तुलनामा २५ अर्ब ३७ करोड रुपैयाँ बढी हो ।
नयाँ सहरको संख्या ५४ वटा पुर्याइएको भए पनि आगामी वर्षको बजेटमा १० सहरलाई प्राथमिकतामा राखिएको छ । मध्यपहाडी राजमार्गअन्तर्गत निर्माणाधीन १० नयाँ सहरका लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको बिहीबार संसद्का दुवै सदनमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
पर्याप्त बजेट अभावमा नयाँ सहर आयोजना निर्माणका कामले गति लिन सकेको छैन । काठमाडौं उपत्यकालगायत प्रमुख सहरको सौन्दर्य तथा आधारभूत सेवाको गुणस्तर वृद्धि गर्न युटिलिटी करिडोरको अवधारणा कार्यान्वयन गरिने बजेटमा उल्लेख छ ।
काठमाडौंको शंकरापुरमा जहरसिंह पौवा स्टेडियम र गणेशमान सिंह पार्क तथा बूढानीलकण्ठ–गोकर्णेश्वरमा मदन भण्डारी बहुउद्देश्यीय पार्क निर्माण आगामी वर्षबाट सुरु गरिने भएको छ । तनहुँको चुँदी रम्घामा भानु साहित्य उद्यान र भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण गरिने विषय बजेटमा उल्लेख छ ।
पालिकाका निर्माणाधीन १ सय २९ प्रशासकीय भवन सम्पन्न गर्न १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए । आगामी वर्ष संघीय संसद् र सर्वोच्च अदालतको भवनको निर्माण सम्पन्न गरी पुरातात्त्विक महत्त्वका शीतल निवास, हरिहरभवन, श्रीमहल र ग्यालरी बैठकको पुनर्निर्माण गरिने बजेट वक्तव्यमा उल्लेख छ ।
पालिका र निजी क्षेत्रको साझेदारीमा आधुनिक प्रविधियुक्त फोहोर प्रशोधन केन्द्र स्थापना गरी ऊर्जा, मल, ब्रिकेटलगायत सामग्री उत्पादन गरिने भएको छ । बागमतीलगायत उपत्यकाका नदीलाई स्वच्छ बनाउन आवश्यक पूर्वाधार निर्माण गरिने र उपत्यकामै करिडोर सडक विस्तार गर्दै लगिने भएकाले त्यसका लागि ३ अर्ब ४२ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए ।
स्थानीय तथा झोलुंगे पुल निर्माणका लागि ८ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरिएको छ । नगर विकास कोषको पुनःसंरचना गरी लगानी क्षमता अभिवृद्धि गरिने र तराई मधेश समृद्धि तथा स्थानीय पूर्वाधार सहयोग कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । त्यसका लागि १ अर्ब २ करोड बजेट रुपैयाँ विनियोजन गरिएको छ ।
सहरी विकास मन्त्रालयअन्तर्गत यो पटक राम्रा कार्यक्रम आएको पूर्वसचिव मणिराम गेलालले बताए । ‘ठूलो प्रदर्शनीस्थल थिएन, भृकुटीमण्डपमा बनाउने कुरा राम्रो छ, पालिका र निजी क्षेत्रको सहकार्यमा फोहोरमैला प्रशोधन केन्द्र बनाउने भनिएको छ, यो अति जरुरी थियो,’ उनले भने, ‘तर नयाँ सहरका लागि भने पर्याप्त बजेट चाहिने हो, त्यो छैन ।’
अब संघले टुक्रे र साना आयोजना बजेटमा राख्न नहुने गेलालको भनाइ छ । ‘यसपालि संघको बजेटमा साना टुक्रे आयोजना व्यापक कटौती गरिएको बुझिएको छ,’ उनले भने, ‘राखिए त्यो गलत हुन्छ, संघले अब ४०–५० लाखका साना आयोजनामा काम गरेर बस्ने होइन, त्यस्ता आयोजना प्रदेश र स्थानीय तहमा पठाउनुपर्छ ।’ उत्साहजनक बजेट आएकाले सफल कार्यान्वयन भए राम्रै प्रतिफल आउने उनको भनाइ छ ।
जनता आवास कार्यक्रमअन्तर्गत आगामी आर्थिक वर्षमा एक हजार घर निर्माण गरिने भएको छ । त्यस्तै सुरक्षित नागरिक आवासअन्तर्गत ५ हजार घरको फुसको छानो विस्थापन गर्न ७५ करोड रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८२/८३ मा ७ सय २७ किलोमिटर सहरी तथा ग्रामीण सडक कालोपत्र तथा स्तरोन्नति, ४६ स्थानीय सडक पुल र २ सय झोलुंगे पुल निर्माण सकिने अर्थमन्त्री पौडेलको दाबी छ ।
काठमाडौं उपत्यकाको यातायात व्यवस्थालाई वातावरणमैत्री बनाउन साझा यातायातलाई थप एक सय विद्युतीय बस उपलब्ध गराइने अर्थमन्त्री पौडेलले बताए । ‘सार्वजनिक यातायातको यात्रु चापलाई व्यवस्थित गर्न सहरी क्षेत्रमा मास ट्रान्सपोर्ट सञ्चालन गर्न प्रोत्साहित गरिनेछ,’ बजेट वक्तव्यमा भनिएको छ, ‘विद्युतीय सवारीसाधनको प्रयोगलाई विश्वसनीय, गुणस्तरीय र दिगो बनाउन प्रोत्साहित गर्दै निजी क्षेत्रलाई चार्जिङ स्टेसन तथा वर्कसप निर्माण गर्न आकर्षित गरिनेछ ।’
काठमाडौं उपत्यकालगायत ठूला सहरमा स्मार्ट सार्वजनिक यातायात सञ्चालन गर्न निजी क्षेत्रको लगानी आकर्षित गरिने बजेटमा उल्लेख छ ।
