साना सवारी साधन दुम्किबासबाट होङ्सी सिमेन्ट कारखानाको बाटो हुँदै वारपार
नवलपरासी — बिहीबार रातिको बाढीले दुम्किबासको विनयी खोलमा रहेको डाइभर्सन सडक बगाएपछि त्यहाँ रोकिएका साना र यात्रुबहाक गाडी होङ्सी, सर्दी हुँदै पठाइएको छ । नारायणगढबाट चोरमारा अरुखोला हुँदै महेन्द्रराजमार्गमा पर्ने होङ्सी सिमेन्ट कारखानाको गेट हुँदै उत्तर सर्दी पुगेर फेरी दुम्किबास हुँदै वारपार गराइएको छ ।
महेन्द्रराजमार्गमा पर्ने होङ्सी सिमेन्टको गेट हुँदै सर्दी दुम्किबास निस्कन २५ किलोमिटर लामो यात्रा गर्न पर्छ ।
इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयी खोलाको डाइभर्सन बगाएका कारण शुक्रबार बिहान २ बजेदेखि रोकिएका साना र यात्रुबहाक गाडी त्यो घुमाउरो सडक हुँदै वारपार गराइएको छ । ठूला, लामा लरी र मालबहाक गाडी भने महेन्द्रराजमार्गमै रोकिएको छ । ठूला गाडी पठाउँदा जाम पर्ने सक्ने भएकाले मालबाहक गाडी त्यो राजमार्गमा हिँड्न नदिइएको प्रहरीले जनाएको छ । बिहीबार राति परेको वर्षातका कारण पूर्वी नवलपरासी अन्तर्गत दाउन्ने, दुम्किबासको विनयी खोला र चोरमारा खोलामा बनाइएको डाइभर्सन बगाउँदा यातायात बिहान २ बजेबाट नै ठप्प थियो ।
दाउन्नेको खुर्सानी खोला नजिकमा महेन्द्रराजमार्ग भासिएको छ । त्यहाँ सडक पुरपार गरेर बिहानदेखि यातायात सुञ्चालन गरिएको छ । त्यस्तै चोरमारामा पनि गिरुवारी पुल नजिकबाट अस्थायी सडक निर्माण गरेर यातायात सुरु गरिएको छ ।
दुम्किबासको विनयी खोलामा बाढी आइरहेकाले त्यहाँ अस्थायी सडक निर्माण गर्न सकिएको छैन । पानी सुकेपछि त्यहाँ अस्थायी सडक निर्माण गरेर यातायात यथावत सुरु गरिने जिल्ला प्रहरी प्रमुख यादव ढकालले जानकारी दिए । 'पानी रोकिएको छ दिउँसोसम्म अस्थायी सडक निर्माण गरेर यातायात सुरु गर्न खटिएको छु,' उनले भने ।
