चितवन — यस वर्षको मनसुन नेपाल भित्रिएको छैन । तर केही दिनदेखि निरन्तर परेको वर्षा भने भइरहेको छ । वर्षापछि ठाउँठाउँमा बाढीपहिरोको कहर सुरु भइसकेको छ । तर नारायणी नदीमा भने उत्खनन् जारी छ ।
यसैबीच बिहीबार साँझ गिट्टी, ढुंगा उत्खनन्का क्रममा एक्कासि नारायणीमा बहाव बढेपछि २२ जना फसेका थिए । उनीहरूलाई सशस्त्र प्रहरीको उद्धार टोलीले रबरबोटमा उद्धार गर्यो । आठवटा टिप्पर र एउटा मेसिन टापूकै बीचमा फसेका छन् । एउटा टिप्पर नदीको भङ्गालोमा पल्टिएको छ ।
बिहीबार अपराह्न सवा पाँच बजेपछि पनि शिवघाट क्षेत्रमा गिट्टी, ढुंगा निकाल्न ठूलै चहलपहल थियो । दर्जनौँ टिप्पर ओहोरदोहोर थियो । तीन/चारवटा एक्स्काभेटरले नदीबाट धमाधम गिट्टी ढुंगा निकाल्दै टिप्परमा खन्याउँदै थिए । गिट्टी/ढुंगा भरिएपछि टिप्पर धुलो उडाउँदै शिवघाटभन्दा केही तल किनारै-किनार पूर्व लागेर रामघाटबाट मुख्य सडकमा निस्कन्थे । तर साढे पाँच नहुँदै त्यहाँको माहोल एकाएक अर्कै भयो ।
लौ बाढी बढ्यो ! भन्ने सुनेपछि चालकहरू काम छाडेर मेसिन र गाडी दिएर नारायणीको भंगालो तर्न तम्सिए । बा प्र ०३३–००१ क ०९२१ नम्बरको टिप्परलाई पनि चालक नवराज गुरुङले भंगालोबाट अगाडि बढाए । तर टिप्पर भेलमै अड्कियो । चालक नवराज हत्त न पत्त बाहिर निस्केर पौडिँदै किनारामा आए ।
घटनाबारे थाहा पाएपछि नारायणगढ आँपटारीमा रहेको सशस्त्र प्रहरीको १७ नम्बर गणको टोली उद्धारका लागि पुगेको थियो । ‘हाम्रो टोली रबरबोट लिएर ६ बजेअघि नै घटनास्थल पुगेको थियो । टापूमा फसेका २२ जनालाई हामीले सुरक्षित रूपमा निकालेका हौं,’ सशस्त्र प्रहरीको आँपटारी १७ नम्बर गणका डीएसपी विनोद खतिवडाले भने । त्यहाँ तीन दिनअघि मात्रै गिट्टी, ढुंगा निकाल्न सुरु भएको थियो ।
भरतपुर महानगरपालिकाको कार्यादेशपछि छलाङ निर्माण कम्पनीले त्यहाँ उत्खनन् सुरु गरेको थियो । शिवघाटमा बर्खायाममा नदीको भङ्गाले फाटेर बनेका स–साना टापू छन् । तीमध्येको एउटा टापू पुग्न नदीको किनारबाट झन्डै दुई तीन सय मिटर पर जानु पर्दछ । उत्खनन् गर्ने ठाउँसम्म जान पनि एउटा सानो भङ्गालो पार गर्नु पर्दछ ।
महानगरपालिकाको वातावरण शाखाका इन्जिनियर शिशिर सुवेदीले प्रारम्भिक वातावरणीय प्रभाव (आईईई) अध्ययन गरेर नै प्रक्रियागत तवरमा उत्खनन्को ठेक्का लगाएको बताउँछन् । छलाङले २१ हजार घन मिटर गिट्टी ढुंगा निकाल्न ठेक्का पाएको उनले बताए ।
