महेन्द्र राजमार्गको दाउन्ने र चोरमारामा वैकल्पिक सडकबाट यातायात सञ्चालन  

जेष्ठ १६, २०८२

नारायण शर्मा

Operation of traffic through alternate roads in Mahendra Highway and Chormara

नवलपरासी — बिहीबार रातिको बाढिले बगाएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चोरमारा र दाउन्नेमा वैकल्पिक सडक निर्माण गरेर केहीबेर अघिदेखि यातायात सञ्चालन भएको छ ।

दुम्किबासको विनयी खोलामा बगाएको डाइभर्सन निर्माण गर्न अझै एक घण्टाभन्दा बढी समय लाग्ने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार बिहीबार रातिको वर्षातले महेन्द्र राजमार्ग अन्तर्गत पर्ने चोरमारा, दुम्किबास र दाउन्ने सडकको डाइभर्सन बगाएका कारण यातायात ठप्प भएको र शुक्रबार बिहान पौने ८ बजेबाट चोरमारा र दाउन्नेमा सुरु भएको जानकारी दिए ।

चोरमारामा पुल नजिकैबाट डाइभर्सन निर्माण गरेर यातायात सुरु गरिएको छ । 'दाउन्नेमा एकतर्फी यातायात सुरु भएको छ,' ढकालले भने, 'दुम्किबासको विनयी खोलामा डाइभर्सन बनाउने काम भइरहेको छ ।'  

राजमार्ग बगाएका स्थानमा वैकल्पिक कच्ची सडक निर्माणको काम शुक्रबार बिहानबाट सुरु भएको छ ।

बर्दघाट बजारबाट ५ किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा ५ दिनअघि निर्माण गरिएको डाइभर्सन सडक बगाएका कारण राजमार्गको यातायात ठप्प भएको थियो । त्यहाँ सडक बगाउँदा तरकारी बोकेको पिकअप भ्यान पनि बगाएको छ ।

फिल्डमा खटिएका ट्राफिक प्रहरीका सई तीर्थ भुसालका अनुसार अहिले बिहान सवा २ बजेदेखि राजमार्गको यातायात ठप्प छ । राजमार्ग खुलाउन त्यहाँ काम भइरहेपनि रातभरिको वर्षातका कारण कठिनाइ भएको छ ।

डाइभर्सन सडक बगाउँदा लु ३ च ८४९३ नम्बरको तरकारी बोकेको पिकअप भ्यानसमेत बगाएको भुसालले जानकारी दिए । भुसालका अनुसार मानवीय क्षति भने भएको छैन ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully