उक्त विस्फोटमा परी उनका छोरा त्रिलोकप्रताप सिंह र छिमेकी रुक्साना खातुनका छोरा ओसी अख्तरको मृत्यु भएको थियो। दुवैलाई जिउँदै चिम्नी भट्टामा हालिएको आरोप आलममाथि लागेको थियो।
रौतहट — रौतहटको यमुनामाई–४ सरुअठा गाउँका ८४ वर्षीय श्रीनारायण सिंहले पहिलो संविधानसभा निर्वाचनको अघिल्लो रात, २०६४ चैत २७ गते रौतहटमा भएको बम विस्फोटमा परेर घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोप लागेका पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता मोहम्मद आफताब आलमसहित चार जनालाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले बुधबार सफाइ दिएको घटनाले आफू स्तब्ध भएको बताएका छन्।
उक्त विस्फोटमा परी उनका छोरा त्रिलोकप्रताप सिंह र छिमेकी रुक्साना खातुनका छोरा ओसी अख्तरको मृत्यु भएको थियो। दुवैलाई जिउँदै चिम्नी भट्टामा हालिएको आरोप आलममाथि लागेको थियो।
उच्च अदालत जनकपुरको वीरगन्जस्थित न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आफताब आलम, उनका भाइ महताब आलम, शेख सेराज (सराज) र बद्री सहनीलाई सफाइ दिएको हो। जिल्ला अदालतले न्याय दिएको भए पनि उच्च अदालतको फैसलाले आफू स्तब्ध भएको सिंहले टेलिफोनमार्फत कान्तिपुरलाई जानकारी गराए । उक्त आदेशको सूचना आलम पक्षका वकिल पुष्पराज पौडेलमार्फत सिंहलाई दिइएको थियो।
‘अब सर्वोच्च अदालतको ढोका ढकढक्याउन जान्छु’, सिंहले खबर सुनेपछि प्रतिक्रिया दिए, ‘त्यहाँ त न्याय पाइएला नि। जिल्लाले न्याय दिए पनि उच्चले मलाई न्याय दिएन।’ देशका ठूला नेताहरूको रवैया यस्तै रहेछ भन्दै गर्दा केही समय उनका स्वर अवरुद्ध भएका थिए। आलमसहितको मुद्दा उच्च अदालत वीरगन्जमा चलिरहेका बेला सिंह पटकपटक इजलाससम्म आफैँ पुग्थे। यस पटक उमेरका कारण थकानका कारण जान नसकेको उनले बताए । सिंह हाल घरमै विश्राम गरिरहेका छन्।
उच्च अदालतको फैसलापछि आफू असुरक्षित महसुस गरिरहेको भन्दै सुरक्षाको व्यवस्था मिलाइदिन उनले आग्रह गरेका छन्। जिल्ला अदालतले पुर्पक्षमा राख्ने आदेश दिएपछि जिल्ला प्रहरीले एक जना सुरक्षाकर्मी तोकेको थियो। झन्डै तीन वर्षपछि जिल्ला प्रहरीले एक वर्षअघि नै अंगरक्षक हटाएको थियो। हाल उनी मानसिक रूपमा त्रासमा छन्।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको तत्कालीन राजपुर गाविस–४ फरहदवास्थित शेख इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते भएका सिंह र अख्तरलाई जिउँदै इँटाभट्टामा हालिएको आरोप आलमसहितका व्यक्तिमाथि लागेको थियो। २२ वर्षीय छोरा त्रिलोकलाई जिउँदै इँटाभट्टामा हालेर मारेको भन्दै आफताब आलमसहितलाई सजायको माग राख्दै श्रीनारायण सिंह १७ वर्षभन्दा बढी समय अदालत धाएका थिए। सो क्रममा उनले खर्च धान्न तीन बिघा जमिनसमेत बेचेका थिए।
जिल्ला अदालत रौतहटले आलमलाई जन्मकैदको सजाय सुनाएपछि न्याय मरेको छैन भन्ने विश्वास जागेको भए पनि उच्च अदालतको फैसलाले श्रीनारायणलाई दुःखी बनाएको छ। त्रिलोक सिंह परिवारका कान्छा छोरा थिए। जेठा छोरा सत्येन्द्रप्रताप सिंह हाल बुवाको रेखदेखमा संलग्न छन्।
भारतको सीतामढीस्थित गोयन्का कलेजमा बीएस्सी दोस्रो वर्ष अध्ययन गरिरहेका त्रिलोक २०६४ चैत १७ गते घर आएका बेला विस्फोटमा परेका थिए। पहिलो संविधानसभा निर्वाचनको अघिल्लो रात अर्थात् चैत २७ गते राजपुर फरहदवामा विस्फोट हुँदा घाइते भएका त्रिलोकलाई बेहोस बनाउने सुई लगाएर जिउँदै चिम्नी भट्टामा हालिएको आरोपमा पूर्वमन्त्री आलम, उनका भाइ महताबसहित ११ जनाविरुद्ध कारबाही माग गर्दै श्रीनारायण सिंहले काठमाडौं र गौरका अदालत धाएका थिए।
घटनाको १२ वर्षपछि, २०७६ असोज ११ गते तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी (हाल एसएसपी) भूपेन्द्रबहादुर खत्रीले आलमलाई पक्राउ गरेपछि मात्रै अनुसन्धान अघि बढेको थियो।
रौतहट जिल्ला अदालतले २०८१ वैशाख १३ गते आलमसहित चार जनालाई जन्मकैदको फैसला सुनाएको थियो। तर उच्च अदालतबाट सफाइ पाएपछि आफताब आलम ललितपुरको नख्खु कारागार र उनका भाइ महताब गौर कारागारबाट बुधबारै रिहा भई घर फर्किएका छन्। आलम हाल काठमाडौंमा छन्। उनको स्वास्थ्य स्थिति ठिक नभएकाले उपचारको तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ। हाल बुवाको रेखदेखमा कान्छा छोरा तथा राजपुर नगरपालिकाका प्रमुख डा. राजिक आलम खटिएका छन्।
उच्च अदालत वीरगन्जले २०६४ चैत २७ गते बम विस्फोट भएको भनिएको घटनास्थलको प्रमाण पुष्टि हुन नसकेको, विस्फोटमा घाइते भनिएका ओसी अख्तर र त्रिलोकप्रताप सिंहलाई ट्याक्टरमा हालेर नजिकको राजा इँटाभट्टामा लगेर जलाइएको भन्ने ठोस प्रमाण वादी पक्षबाट पेस हुन नसकेको र विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनबाट मृतकलाई इँटाभट्टामा जलाइएको भन्ने अभियोग पुष्टि हुन नसकेको उल्लेख गरेको छ।
