न्युजिल्यान्डका उपप्रधान एवं परराष्ट्रमन्त्रीद्वारा खुम्बु क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता

जेष्ठ १५, २०८२

भानुभक्त निरौला

New Zealand's Deputy Prime Minister and Minister of Foreign Affairs made a commitment to invest in the Khumbu region

सोलुखुम्बु — न्युजिल्यान्डका उपप्रधान एवं परराष्ट्रमन्त्री विन्स्टन पिटर्सले खुम्बु क्षेत्रको शिक्षा र स्वास्थ्यमा आगामी ५ वर्षका लागि १ दशमलव ८ मिलियन डलर खर्च गर्ने प्रतिबद्धता जनाएका छन् ।

मे २९ अर्थात् ७२ औं सगरमाथा दिवसको अवसरमा खुम्जुङ माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पिटर्सले नेपालको हिमाली क्षेत्रसँग न्युजिल्यान्डको सम्बन्धको चर्चा गर्दै हिमालयन ट्रस्टमार्फत यहाँको स्वास्थ्य र शिक्षामा लगानी र सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका हुन् । 

उनले नेपाल र हिमाली क्षेत्रमा न्युजिल्यान्ड सरकारले सहयोग गरिरहने भन्दै आजभन्दा ७२ वर्षअगाडि न्युजिल्यान्डका नागरिक  एडमण्ड हिलारी र नेपाली तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेर विश्वमै ठूलो उपलब्धि हासिल भएको स्मरण गरे । 

सगरमाथा आरोहणको ७२ वर्ष पुगेको दिनको सम्झनामा खुम्बु क्षेत्रमा सगरमाथा दिवस मनाउन खुम्जुङ पुगेका उपप्रधानमन्त्री पिटर्सलाई खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा शेर्पा र स्थानीयले स्वागत गरेका थिए । सो क्रममा पालिका अध्यक्ष शेर्पाले न्युजिल्यान्ड सरकारको शिक्षा क्षेत्रमा भएको निरन्तर सहयोगले खुम्बु क्षेत्रमा दक्ष जनशक्ति उत्पादन र शिक्षाको समग्र गुणस्तरमा ठूलो मद्दत भएको भन्दै आगामी दिनमा जलवायु अनुकूलनका कार्यक्रममा सहयोग गर्न माग गरे । 

पलिका अध्यक्ष शेर्पाले जलवायु परिवर्तनको असरका कारण खुम्बु क्षेत्रमा ठूला प्राकृतिक विपत्ति आइपरेको भन्दै यसको अनुकूलनका कार्यक्रम संचालन गर्न माग गरेका छन् । 

स्थानीय अगुवाहरूले न्युजिल्यान्ड सरकारको सहयोगको मुक्तकण्ठले प्रशंसा गरेका थिए । सगरमाथा दिवसको अवसरमा खुम्बु क्षेत्रमा खेलकुद, मनोरञ्जन र आरोही सम्मानजस्ता कार्यक्रम संचालन भइरहेको पालिका अध्यक्ष शेर्पाले जानकारी दिए ।

भानुभक्त

Link copied successfully