काठमाडौँ — नागढुंगा उकालोमा बिग्रिएका दुई ट्रक र नजिकै दुर्घटनामा परेको एक बसका कारण काठमाडौं भित्रिने र बाहिरिने महत्त्वपूर्ण नाकामा घण्टौंदेखि लामो जाम भएको छ ।
नागढुंगा–मलेखु सडक कार्यालयका योजना प्रमुख केशवप्रसाद ओझाले साँघुरो र सडक निर्माण भइरहेकै ठाउँमा दुई ट्रक बिग्रेकाले गाडीको लामो जाम भएको बताए । उनका अनुसार अहिले गाडी पास भइरहेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसपी दीपक गिरीले दाङबाट आएको बस दुर्घटना भएका कारण राति तीन बजेपछि यातायात अवरुद्ध भएको बताए ।
गिरीका अनुसार चन्द्रागिरि नगरपालिका–२ नागढुंगा सडकखण्डमा लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस उकालो चड्दा ब्रेक नलागेर पल्टिएको हो । जसमा तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा रोल्पाकी २५ वर्षीय रोशनी घर्तीमगर, २४ वर्षीया बबिता घर्तीमगर र दाङका २८ वर्षीय मानबहादुर ओली रहेका छन् । उनीहरुको उपचार सहिद मेमोरियल कलंकीमा उपचार भइरहेको छ ।
उनले दुर्घटनामा परेको सवारी पन्छाएपछि बिहान सात बजेदेखि यातायात खुलेको बताउँदै भने, ‘अहिले काठमाडौंबाट बाहिर जान समस्या नभएपछि काठमाडौं भित्रिने सवारीहरु जममा परिरहेका छन् ।’
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलको छेउमा भ्वाङ परेका कारण मंगलबार दिनभर सडक अवरुद्ध भएको थियो । उक्त पुलको छेउमा मर्मत गरे पनि अहिले ठूला कन्टेनरहरु सहजै पास हुन सक्ने अवस्था छैन ।
