काठमाडौँ — पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-७ स्थित सोताङ खोलाको पुलबाट एकतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ । पुल छेउमा भ्वाङ परेपछि मंगलकनर दिनभर सडक अवरुद्ध भएको थियो । मंगलबार साँझ डाइभर्सन बनाएपछि मात्र एकतर्फी रूपमा यातायात सञ्चालनमा आएको हो ।
पुलबाट भने मंगलबार राति पौने ११ बजेबाट एकतर्फी यातायात सञ्चालनमा ल्याइएको नागढुंगा-मलेखु सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए । उनका अनुसार पुल र डाइभर्सनबाट सवारी साधन एकतर्फी चलाइएको छ ।
तर दुईतर्फी रूपमै चलाउने गरी काम भइरहेको उनको भनाइ छ । ‘ठूला ट्रकहरू पहिला पनि यो पुलबाट दोहोरो चलाउन समस्या थियो,’ उनले भने, ‘अहिले केही ट्रकहरू पुलबाट काठमाडौंतर्फ पठाइसकिएको छ,यात्रुवाक र साना सवारी पुलबाट दोहोरो रूपमा चलाउने गरी काम भइरहेको छ ।’ उनले बुधबार साँझसम्म दुईतर्फी नै गर्ने गरी काम गरिरहेको बताए ।
