यो वर्ष औषतभन्दा बढी पानी पर्ने र क्षति हुने अनुमान, कुन प्रदेशमा कति जोखिम?

प्रजनन् उमेर समुहका ३६ हजार महिला, ४८ हजार अपांगता भएका, १ लाख ६४ हजार बालबालिका र ४ लाख १५ हजार जना जेष्ठ नागरिक प्रभावित हुने आँकलन

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

This year there will be more than average rain and damage, how much risk in which province?

काठमाडौँ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सार्वजानिक गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, ०८२’ अनुसार यस वर्षको मनसुनबाट सबैभन्दा बढी लुम्बिनी प्रदेशबासी प्रभावित हुने देखिएको छ। यो वर्ष लुम्बिनीमा १ लाख १९ हजार ८३० घरधुरीका ५ लाख २३ हजार ६५६ जनसंख्या र सबैभन्दा कम कर्णाली प्रदेशका २९ हजार १३२ घरधुरीका १ लाख २७ हजार ३०८ जनसंख्या प्रभावित हुने प्राधिकरणले जनाएको छ।

यसैगरी बागमती प्रदेशका ७४ हजार ९१४ घरधुरीका ३ लाख २७ हजार ३७६ जनसंख्या, गण्डकी प्रदेशका ६५ हजार ६९९ घरधुरीका २ लाख ८७ हजार १०७ जनसंख्या, कोशीका ६३ हजार १२७ घरधुरीका २ लाख ७५ हजार ८६७ जनसंख्या, मधेश प्रदेशका ५२ हजार ३३१ घरधुरीका २ लाख २८ हजार ६८७ जनसंख्या, सुदुरपश्चिम प्रदेशका ५२ हजार ११२ घरधुरीका २ लाख २७ हजार ७३० जनसंख्या प्रभावित हुने पुर्वानुमान गरिएको छ ।

करिब चार महिनाको अवधिमा देशैभरी मनसुन्जन्य विपद्बाट करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आँकलन गरेको छ ।

यसैगरी मनसुनजन्य विपद्बाट कुल जनसंख्याको आधाभन्दा बढी अर्थात १० लाख २९ हजार जना (५२ प्रतिशत) महिला प्रभावित हुने आँकलन गरिएको छ । भने प्रभावित हुने पुरुषको जनसंख्या ९ लाख ६९ हजार जना छ । यसैगरी प्रजनन उमेर समुहका ३६ हजार महिला, ४८ हजार जना अपांगता भएका, १ लाख ६४ हजार जना बालबालिका र ४ लाख १५ हजार जना जेष्ठ नागरिक प्रभावित हुनेछन् ।

सामान्यतयाः देशभर बार्षिक रुपमा हुने कुल बर्षामध्ये ८० प्रतिशत मनसुनको चार महिना जेठ १८ देखि असोज १४ को अवधिमा र २० प्रतिशत बर्षा बाँकी आठ महिनामा हुन्छ । यसबर्षको मनसुनमा सरदरभन्दा बढि पानी पर्ने र क्षति पुग्ने पुर्वानुमान गरिए अनुसार पुर्वतयारीका लागि कार्ययोजना पारित गरिएको प्राधिकरणका कार्यकारी प्रमुख एवं कार्यकारी समितिका सदस्य सचिव ई. दिनेश प्रसाद भट्टले बताएका छन् ।

This year there will be more than average rain and damage, how much risk in which province?

यस बर्षको मनसुनमा कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बीनीको उत्तरी भुभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदर भन्दा बढी बर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । सुदुरपश्चिमको दक्षिणी भुभाग, लुम्बिनीको पश्चिमी भुभाग, गण्डकीको उत्तर पुर्वी भुभाग, बागमती र कोशीको उत्तरी भुभागमा सरदर भन्दा बढी बर्षाको सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ । भने देशका बाँकी भुभभागमा सरदर भन्दा बढी बर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

५०० वटा जोखिम न्यूनीकरण पूवर्तयारी तथा प्रतिकार्यका लागि विपद् विशिष्टिकृत इकाइहरु छन् । खोज तथा उद्धारका लागि १० हजार ८५ जना प्रहरी जनशक्ति स्ट्यान्डबाइ रहनेछन् । २७७ वटा हेभि इक्यिुप्मेन्ट र १२ वटा बेलिब्रिज तयार गरिएका छन् ।

देशभर विपद् व्यवस्थापन कोषमा ४ अर्ब ६५ करोड २४ लाख १८ हजार २८६ रुपैया मौज्दात रहेको छ । प्रधानमन्त्री दैवी प्रकोप कोषमा १ अर्ब ८९ करोड २९ लाख ७२ हजार, केन्द्रीय विपद् व्यवस्थापन कोषमा १ अर्ब २७ करोड ४७ लाख ७३ हजार, प्रदेश विपद् व्यवस्थापन कोषमा ७९ करोड ४१ लाख २९ हजार, जिल्ला विपद् व्यवस्थापन कोषमा ६९ करोड ५ लाख ४३ हजार रुपैया मौज्दात रहेको छ । 

बाढी, पहिरो लगायत मनसुनजन्य विपद् सचेतना सामाग्रीहरुको प्रचारप्रसार गर्ने, सम्भावित संक्रामक रोगहरुका बारेमा पूर्वसुचना सम्प्रेषण गर्ने, टेलिफोन टावरहरुमा बाढी पहिरोका कारण क्षति पुगेमा मोबाइल टावरको व्यवस्था गर्ने पुर्वतयारी गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले २४ सै घण्टा मौसम कक्ष सञ्चालन गर्ने भएको छ । मौसमको विशेष अवस्थामा आकस्मिक मौसम बुलेटिन, तीन दिने तथा भारी, धेरै भारी र अति भारी बर्षाको बिशेष स्थितिमा पाच दिने मौसम पुर्वानुमान बुलेटिनहरु जारी गर्ने, बाढी सतर्कताका लागि मुख्य नदी जलाधारका सर्वसाधारणहरुलाई मोबाइलमा पुर्वचेतावनीको सन्देश पठाउने, बाढी पुर्वसुचना प्रदान गर्ने उदेश्यले मनसुनभर सर्वसाधारणका लागि ११५५ नम्बरको टोल फ्रि सेवा सञ्चालन गर्ने भएको छ ।

मनसुनको बेला तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका लागि सुर्खेतमा नेपाली सेनाको एउटा पश्चिम एयर बेस हेलिकप्टर, बागमती, गण्डकी, मधेश र कोशी प्रदेशका लागि काठमाडौंमा अर्को मध्य एयर बेश हेलिकप्टर स्ट्याण्डबाई रहनेछन् । तत्काल उद्धारका लागि खबर आएको १५ मिनेटभित्रमा परिचालन गर्न सक्नेगरी काठमाडौंको गौचर ब्यारेकमा हवाई साधन तयारी अवस्थामा राखिएको छ । पानीमा उद्धारमा खटिनका लागि तालिम प्राप्त २७६ र पौठिन जान्ने २ हजार ८२३ जना प्रहरी जनशक्ति रहेका छन् ।

समुदायस्तरमा विपद् सम्बन्धी सूचना प्राप्त गर्ने उद्धेश्यले असार मसान्तभित्र हरेक वडाबाट २५ जनाका दरले देशैभरीबाट १ लाख ६८ हजार ५७५ जना विपद् सुचक तयार गर्ने भएको छ । समुदायस्तरमा विपद् प्रतिकार्यका लागि ३ हजार ६७५ स्वयवंसेवक तयार गर्ने योजना रहेको छ।

कान्तिपुर

Link copied successfully