काठमाडौँ — कांग्रेस पूर्वसांसद आफताब आलमले उच्च अदालतबाट पाए सफाइ, पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले मागे न्याय, राजावादीलाई चक्रपथभित्र प्रवेश नदिन प्रधानमन्त्रीको निर्देशनदेखि अमेरिकी विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना रोक्ने ट्रम्पको नीतिसम्मका समाचार आज चर्चामा रहे ।
०००
रौतहटमा भएको बम विस्फोटका अभियुक्त मोहम्मद आफताब आलमलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले बुधबार जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।
०००
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा कर्मचारीमाथि भइरहेको अनुसन्धानमा आफूलाई जोड्नु अन्याय भएको बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले आफूविरुद्ध कहीँ कतै उजुरी नपरेको र छानबिन पनि नभएकाले राजीनामा दिनुनपर्ने बताएका हुन् ।
०००
विपक्षी दलहरूको अवरोधका कारण बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठक सूचना टाँस गरेर बिहीबार दिउँसो साढे १ बजेसम्मका लागि स्थगित गरिएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागसहित प्रमुख प्रतिपक्षी दल माओवादीसहितका विपक्षी दलले प्रतिनिधिसभामा अवरोध गरिरहेका छन् ।
०००
प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबारदेखि सुरु हुने राजावादीको प्रर्दशनलाई चक्रपथ बाहिरै राख्न निर्देशन दिएका छन् । चारैवटा सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्रिफिङ लिने क्रममा प्रधानमन्त्रीले चक्रपथभीत्र प्रवेश नदिन र सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
०००
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकाका विश्वविद्यालयहरुमा विदेशी विद्यार्थी भर्ना रोक्न नयाँ नीति अघि बढाएको छ । गत साता हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना कार्यक्रम र व्यवस्थापन प्रणाली खारेज गर्न जारी गरेको आदेश तत्काल कार्यान्वयनमा संघीय अदालतले रोक लगाएपछि राष्ट्रपति ट्रम्पको प्रशासनले अमेरिकाभरका विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना रोक्ने नयाँ नीति अघि बढाएका हुन् ।
