एमालेको कार्यक्रमपछि प्रदर्शन गर्न राजावादीलाई समय

–एमालेलाई भृकुटीमण्डपमा साढे १० बजेदेखि कार्यक्रम सुरु गरेर सवा २ बजेसम्म सक्न प्रशासनको अनुरोध, त्यसपछि शान्तिबाटीका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय

जेष्ठ १४, २०८२

विवेक पोख्रेल

Time for royalists to demonstrate after the UML program

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारको प्रदर्शन तथा कार्यक्रमका लागि सत्तारुढ एमाले र राजावादी समूहलाई छुट्टाछुट्टै समय उपलब्ध गराएको छ । पहिले एमालेलाई कार्यक्रम गर्न र त्यसपछि राजावादीको प्रदर्शन आयोजना गर्न प्रशासनले समय छुट्याएको हो ।

एमालेलाई भृकुटीमण्डपमा साढे १० बजेदेखि कार्यक्रम शुरु गरेर सवा २ बजेसम्म सक्न प्रशासनले अनुरोध गरेको छ । त्यसपछि शान्तिबाटीका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय दिइएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जानकारी दिए । ‘एमाले तथा राप्रपाका नेताहरुसगको छलफलपछि समय छुट्याइएको हो,’ उनले भने ।

एमालेले बिहीबार गणतन्त्र दिवस मनाउने कार्यक्रम छ । राप्रपा लगायत दल र राजावादी समूहले राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको मागसहित बिहीबारदेखि अनिश्चितकालीन प्रदर्शनको घोषणा गरेको छ । राजावादीले गत चैत १५ मा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । अर्कोतर्फ केही दिनअघि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार काठमाडौंलाई केही घण्टा नियन्त्रणमा राख्न पार्टीका कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । सोही कारण यसपटक सुरक्षा व्यवस्थामाथि चासो बढेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी सबै तरिकाले सुरक्षा व्यवस्था कडा बनाएको बताउछन् । ‘कानुन अनुसार भएका गतिविधिमा सहयोग गर्छौं,’ अधिकारीले भने, ‘कानुन नमान्नेलाई कारवाही पनि गर्नेछौं ।’

नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन परिचालन समितिले बिहीबारदेखि प्रदर्शन घोषणा गरेको हो । प्रदर्शनका लागि राप्रपाले प्रशासन कार्यालयलाई पत्र नपठाए पनि १२ बजे शान्तिबाटीकामा भेल हुन समर्थकलाई अनुरोध गरेको छ । ‘आन्दोलनका लागि कोही कसैसँग समय लिनु पर्दैन,’ राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले भने, ‘काठमाडौंका विभिन्न ठाउाबाट र्‍र्याली सहित शान्तिबाटिकामा १२ बजे भेला भएर शान्तिपूर्ण ढंगबाट आन्दोलन हुनेछ ।’

राजावादी समूहले देशका विभिन्न स्थानमा स्वतःस्फूर्त रूपमा धर्ना, जुलुसलगायत जनप्रदर्शन निरन्तर चल्ने जनाएको छ । ‘हामीले बर्षा हुन सक्ने भनेर छाता र पानीको बोतल सहित सडकमा भेला हुन भनेका छौं,’ लावतीले भने, ‘भद्र अवज्ञा र सत्याग्रह आन्दोलनको स्वरुप हुनेछ ।’ यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेले आफूहरुलाई अवरोध गरे प्रतिकारको चेतावनी समेत दिएका थिए ।

यस्तै, प्रधानमन्त्री ओलीको अभियव्यक्तिपछि सरकारकै नेतृत्वमा रहेका व्यक्तिले यस्तो अभिव्यक्ति दिनु विधिको शासनको भावना विपरीत भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले समेत चासो देखाएको थियो । आयोगले लोकतान्त्रिक व्यवस्थामा कुनै पनि समूह, व्यक्ति वा पार्टीलाई आफ्नो विचार र प्रदर्शन गर्ने स्वतन्त्रता सुनिश्चित गरिएको उल्लेख गरेको छ । साथै अरूको विचारप्रति लक्षित उत्तेजनापूर्ण भाषा प्रयोग गर्नु मानव अधिकारका मूल्य र मान्यताको उल्लङ्गन हुने भन्दै उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रहसमेत गरेको छ । आयोगले प्रदर्शनलाई शान्तिपुर्ण बनाउन अपील गर्दै शान्ति सुरक्षाप्रति गम्भीर हुन काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखहरुलाई आग्रह गरेको छ ।

यसैबीच, चैत १५ को घटनामा सरकारी वकिलको कार्यालयले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर जबरा, दुर्गाप्रसाद प्रसाईंसहित ५० जना र ११ जनाको छुट्टाछुट्टै अभियोग पत्र तयार गरी मुद्दा दायर गरेको छ । ११ जनालाई आपराधिक उपद्रवअन्तर्गत र अन्यलाई व्यक्ति विशेष मुद्दा दर्ता गरिएको छ । हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोप लागेका चार बालकविरुद्ध पनि बाल अदालतमा मुद्दा दायर भएको छ । चैत १५ मा भएको राजावादीको प्रदर्शनको क्रममा सञ्चारकर्मी सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सबिन महर्जनको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully