रौतहट वम विस्फोट घटना : आलमसहित चार जनाले पाए सफाइ 

जेष्ठ १४, २०८२

शिव पुरी

Rautahat bomb blast incident: Four people including Alam acquitted

रौतहट — पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटमा भएको बम विस्फोट गरी घाइतेलाई जिउँदै इँटाभट्टामा हालेको आरोप लागेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमसहित चार जनालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले सफाइ दिएको छ । 

जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले बुधबार आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।

उच्च अदालत वीरगन्जका तहसलीदार ध्रुव सुवेदीले चारै जनाले सफाइ पाएको जानकारी दिए । जिल्ला अदालत रौतहटले उनीहरूलाई २०८१ वैशाख १४ गते जन्मकैदको फैसला सुनाएको थियो । आलमलाई घटनाको १२ वर्षपछि २०७६ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।

घटनामा संलग्न भनिएका स्थानीय मुक्ति साहको अभियोगमा दाबी नपुगेको फैसला सुनाएको थियो । जिल्ला अदालतका न्यायाधीश मात्रिकाप्रसाद आचार्यले घटनामा फरार भनिएका मोहम्मद मोबिन,शेख फजले,शेख भदै,साहिल आलम र शेख जुमैको मुद्दा मुल्तबीमा राख्ने आदेश गरेका थिए ।

जन्मकैदको फैसलामा पनि आलम परिवार जिल्ला अदालत रौतहटको आदेशविरुद्ध उनी उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा पुगेका थिए । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully