राजावादीको आन्दोलन र एमालेको उत्सव एकै दिन

जेष्ठ १४, २०८२

कान्तिपुर संवाददाता

Rajawadi's movement and UML's celebration on the same day

काठमाडौँ — गत चैत १५ को राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि राजवादीले गर्ने थप कार्यक्रमहरूलाई विशेष चासोका रूपमा हेरिएको छ । राजतन्त्रवादीहरूले राजतन्त्र र हिन्दूराज्य लगायतका मागहरू राखेर भोलि जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् ।

नेकपा एमालेले पनि सोही दिन गणतन्त्र उत्सव मनाउँदैछ । सो दिन काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न एमाले अध्यक्ष एवं  प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशनसमेत दिएका छन् । तर, यी दुवै कार्यक्रम कहाँ हुने भन्ने टुंगो लागेको छैन । 

जिल्ला प्रशासन कार्यलय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी अशोककुमार भण्डारी नेकपा एमालेले भृकुटीमण्डप, रत्नपार्क, पुतलीसडक क्षेत्रमा कार्यक्रमका लागि स्थान माग गरेको छ । ‘जिल्ला सुरक्षा समितिको बैठक आज दिउँसो बस्ने छ,’ भण्डारीले भने, ‘यस विषयमा हामी बुझ्ने र निर्णय गर्ने काम बाँकी छ । ’

नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन परिचालन समितिले यसपटक राजावादीको आन्दोलनको नेतृत्व गर्दै छ ।

राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जेठ १५ गतेबाट जनआन्दोलन सुरु गर्ने र राजसंस्था र हिन्दूराज्य पुनर्स्थापना नभएसम्म आन्दोलन नरोक्ने घोषणा गरिएकोले आन्दोलनका लागि कोही कसैसँग समय लिनु नपर्ने बताए । उनका अनुसार शान्तिबाटिकामा १२ बजे भेला भएर शान्तिपूर्ण ढंगबाट आन्दोलन हुनेछ । उनीहरूका अनुसार यो आन्दोलन अन्तर्गत जेठ १५ गतेबाट देशका विभिन्न स्थानमा स्वतःस्फूर्त रूपमा धर्ना, जुलुसलगायत जनप्रदर्शनहरू हुनेछन् ।

यसअघि १५ चैतको घटनामा सरकारी वकिलको कार्यालयले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर जबरा, दुर्गाप्रसाद प्रसाईँसहित ५० र ११ जनाको छुट्टाछुट्टै अभियोग पत्र तयार गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम मुद्दा दायर गरेको छ । ११ जनालाई आपराधिक उपद्रवअन्तर्गत र अन्यलाई व्यक्ति विशेष मुद्दा दर्ता गरिएको छ । अहिले जिल्ला अदालतमा बयान सुरु भएको छ । हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोप लागेका चार बालकविरुद्ध पनि बाल अदालतमा मुद्दा दायर भएको छ ।

प्रदर्शनकै क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सबिन महर्जनको मृत्यु भएको थियो भने २० जना प्रदर्शनकारी प्रहरीको गोली लागेर घाइते भएका थिए ।

कान्तिपुर

Link copied successfully