यो वर्ष मनसुनजन्य विपद्बाट देशभर करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ मानिसहरू प्रभावित हुने अनुमान
काठमाडौँ — सरकारले यस वर्षको मनसुनजन्य पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना ०८२ बुधबार पारित गरेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष तथा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बुधबार बसेको समितिको ३२ औँ बैठकले उक्त कार्ययोजना पारित गरेको हो।
उक्त योजनामा मनसुन पूर्वानुमान, विपद्बाट प्रभावित हुने अनुमानित केस लोड, मनसुनजन्य विपद्को पूर्व तयारी तथा प्रतिकार्यका लागि सरोकारवाला मन्त्रालय, विभाग तथा निकायको जिम्मेवारी, लगायत विवरण समेटिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले यस वर्षको मनसुनजन्य विपद्बाट देशभर करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसङ्ख्या प्रभावित हुने आँकलन गरेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
बैठकले चोभार गल्छी साँघुरो भई गत वर्ष असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाको कारण बागमती नदीमा पानीको सतह बढ्न गई काठमाडौँ उपत्यकाका नख्खु, कुशेश्वर, थापाथली, बल्खु लगायतका भू–भागहरूमा डुबान भएको हुँदा पुनः उक्त प्रकारको क्षति हुन नदिन सतर्कता अपनाउन आग्रह गरेको छ।
त्यसका लागि नेपाली सेनाबाट सहयोग लिई चोभार गल्छीमा रहेको अवरोध हटाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको प्राधिकरणका कार्यकारी प्रमुख एवं कार्यकारी समितिका सदस्य सचिव ई. दिनेश प्रसाद भट्टले बताए ।
