गत वर्षको मनसुन तीन दिन चाँडै सुरु भएर १० ढिला बाहिरिँदा राष्ट्रिय विपद् प्राधिकरणको ‘क्षति तथा नोक्सानीको प्रारम्भिक आँकलन’ अनुसार करिब ४६ अर्ब ६८ करोड ४३ लाखभन्दा बढीको क्षति पुगेको थियो ।
काठमाडौँ — भारतको दक्षिणी केरला, गोवा, कर्नाटका, महाराष्ट्र राज्यहरुमा जनजीवन नै प्रभावित हुने गरी अत्याधिक वर्षा सुरु भइसकेको छ । के यसको संकेत नेपालका निम्ति केही हुनसक्छ ? हामीले यही प्रश्न जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाका मौसमविद् डेबिड ढकाललाई सोध्यौं ।
उनले भने, ‘नेपालमा पनि मनसुनी अवधिमा भारी वर्षाको सम्भावना रहेको आँकलन गर्न सकिन्छ, र त्यही अनुसार पुर्वतयारी गरेर बस्नुपर्छ भन्ने संकेत हो ।’ उनले गतवर्ष पनि मनसुनको बेला भारी वर्षाले क्षति हुने सम्भावित स्थानहरुका बारेमा पूर्वचेतावनी गराइएको बताउँदै त्यतिबेला वेवास्ता गर्दा काठमाडौं उपत्यकामामा जनधनको क्षति भएको बताए ।
भारतको दक्षिणी केरला राज्यमा सरदर भन्दा आठ दिन अगावै गत शनिबार मनसुन प्रवेश गरेकाले नेपालमा पनि सरदरभन्दा छिटो मनसुन प्रवेश हुने प्रक्षेपण गरिएको छ । हिजो मंगलबार आसामका केही भुभागहरु तथा भुटान र बंगलादेशको पूर्वी भेगसम्म मनसुन आगमन भैसकेको हुँदा नेपालमा सरदर भन्दा छिटो मनसुन भित्रिने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मनसुन आगमन अनुगमन बुलेटिनमा उल्लेख छ ।
बुलेटिनमा भनिएको छ, ‘भू–उपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम मोडेलबाट प्राप्त तथ्याकंको विश्लेषणको आधारमा यस वर्षको मनसुन यसै साताको अन्त्यसम्ममा नेपालको पूर्वी भूभागबाट प्रवेश हुने सम्भावना देखिएको छ ।’
मौसम पुर्वानुमान बुलेटिन अनुसार आगामी तीन दिन अर्थात बिहिबार बेलुकी र शुक्रबार दिउँसो र राती कोशी, गण्डकी र मधेश प्रदेशका केही स्थानमा भारी बर्षाको प्रक्षेपण गरिएको मौसमविद् ढकालले बताए । उनले भने, ‘बिहिबार बेलुकी कोशी र गण्डकीको हिमाली तथा पहाडी भेगहरुमा र शुक्रबार दिउँसो र राती कोशी र मधेशको केही स्थानमा भारी बर्षा हुने देखिन्छ ।’
मनसुन सामान्यतः भारतको केरला राज्यमा मे ३१ वा जुन १ (जेठ १७ वा १८ गते) मा केरलामा आइपुग्ने र जुन १३ (जेठ ३०) भित्रमा नेपाल आइपुग्ने गर्छ । यसपाली केरलामा चाडै भित्रिएकाले नेपालमा पनि छिटै प्रवेश हुने आँकलन भैरहेको भएपनि यकिन भन्न नसकिने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा.मदन सिग्देल बताउछन् । ‘गतबर्ष बंगालको खाडीबाट आएको मनसुनी जलवास्प बंगलादेशमाथि र भारतको वेष्ट बेंगाल राज्यको सिलगुडीमुनि आएपछि केही दिन अडिएको थियो, मनसुनको सक्रियता र हावाको बहाव तथा नेपालको पनि आफ्नै भौगोलिक बिशिष्टताहरु भएका कारण यति नै समयमा आइपुग्छ भन्न सकिदैन,’ उनले भने, ‘यद्यपी सरदरभन्दा चाडै र औसत भन्दा बढि बर्षात हुने पुर्वानुमान अनुसार पुर्वतयारीमा ध्यान दिनुपर्छ ।’ सामान्यखालका हेलचेक्राईले नै काठमाडौंले डुबान भोगिरहेको हुनाले ढल नालाको सरसफाई गर्नेजस्ता कार्यहरु समुदायस्तरबाट समेत हुनु जरुरी रहेको बताए ।
गत वर्षको मनसुन तीन दिन चाँडै सुरु भएर १० ढिला बाहिरिँदा राष्ट्रिय विपद् प्राधिकरणको ‘क्षति तथा नोक्सानीको प्रारम्भिक आँकलन’ अनुसार करिब ४६ अर्ब ६८ करोड ४३ लाखभन्दा बढीको क्षति पुगेको थियो । ०८१ जेठ २८ देखि असोज २६ सम्म सक्रिय हुँदा सरदरभन्दा बढी मनसुनी वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभागको विश्लेषणअनुसार गत वर्ष ७७ वर्षकै इतिहासमा सबैभन्दा ठूलो पानी परेको थियो ।
