काठमाडौँ — अध्यागमनबाट अवैध रूपमा उठाइएको पैसा बाँडफाँड गर्न ५ जनाको समिति नै बनाइएको माओवादी सासंद झक्कुप्रसाद सुवेदीले दाबी गरेका छन् । बुधबार राष्ट्रिय सभामा सासंद सुवेदीले गृहमन्त्रीकै संग्लनतामा अध्यागमनबाट पैसा उठाइएको आरोप लगाउँदै यो प्रकरणले नेपालीको शिर निहुरिएको बताएका हुन् ।
गृह मन्त्रालयको उच्च नेतृत्वको संग्लनतामा मानव तस्करी भएको भन्दै उनले यो प्रकरणमा सबै कर्मचारी मिलेको बताए । उनले चालक र शौचालय सफा गर्ने कर्मचारीसम्मले पनि अवैध असुलीबाट भाग पाएको दाबी गरे ।
'अख्तियार र प्रहरीहरू आकस्मिक रूपमा चेकिङमा आउनुभन्दा अगाडि नै सहसचिवको सरुवा किन गरियो,' प्रमाण नष्ट गर्नका लागि यस्तो गरिएको उल्लेख गर्दै उनले सरकारलाई प्रश्न गरे ।
गृहमन्त्री रमेश लेखकले रवि लामिछाने प्रकरणमा बाटो खाली गर्न र अनुसन्धानलाई सघाउन भनेको तर अहिले आफूमाथि आरोप लागेको बेला अनुसन्धान गर्न देऊ भनेर दोहोरो चरित्र देखाएको पनि बताए । जनमानसबाट विरोध आएकै भरमा एमाले सासंद शेरबहादुर तामाङले राजीनामा दिएको प्रसंग सुनाउँदै लेखकले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुवेदीको भनाइ थियो ।
‘गृहमन्त्रीले जोगाइदिन काग्रेससँग गुहार मागेका छन् । अब गृहमन्त्रीको बयान कांग्रेसले होइन, सीआईबी, अख्तियार र उच्चस्तरीय छानबिन समितिले लिनेछ,’ सांसद सुवेदीले भने ।
