जनप्रशासन क्याम्पसका विवादित प्रमुख शाही हटाइए, शर्मा नियुक्त

जेष्ठ १४, २०८२

कान्तिपुर संवाददाता

Controversial Head of Public Administration Campus Shahi Removed, Sharma Appointed

काठमाडौँ — जनप्रशासन क्याम्पस बल्खुको प्रमुखमा बुधबार उपप्राध्यापक सुवास शर्मा नियुक्त भएका छन् । निमित्त उपकुलपति खड्ग केसीको अध्यक्षतामा बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले मंगलबार शर्मालाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

बुधबार नियुक्तिपत्र बुझेर उनले पदभार ग्रहण गरेको क्याम्पसले जनाएको छ । नवनियुक्त शर्मा विकास प्रशासन र स्थानीय शासन प्रणाली विषयका उपप्राध्यापक हुन् भने उनी जनप्रशासन क्याम्पस प्राध्यापक संघ इकाईका अध्यक्षसमेत थिए ।

क्याम्पस सञ्चालक समितिले गत फागुनमा गठन गरेको क्याम्पस प्रमुख नियुक्तिका लागि छनोट तथा सिफारिस समिति (सर्ट कमिटी) ले सह–प्राध्यापक हरिभक्त शाही, शर्मा र उप–प्राध्यापक टेकराज पौडेलको नाम सिफारिस गरेको थियो । 

सर्ट कमिटिले गरेको सिफारिसको आधारमा कार्यकारी परिषद्ले ४ वर्षे कार्यकालका लागि क्याम्पस प्रमुख नियुक्त गर्ने व्यवस्था छ । सह–प्राध्यापक नरेन्द्रराज पौडेल अध्यक्षताको क्याम्पस सञ्चालक समितिले प्राध्यापक बालकृष्ण श्रेष्ठको संयोजकत्वमा प्राध्यापक सिलु प्रधानाङ्ग र अच्यूत ज्ञवाली सदस्य रहेको कमिटी गठन भएको थियो । 

कमिटीले आवेदकहरुबीच कार्यविधिका आधारमा मूल्यांकन गरी नाम सिफारिस गरेको अध्यक्ष पौडेलले जनाए । त्रिविको आंगिक जनप्रशासन क्याम्पसमा ९ वर्षदेखि निमित्त क्याम्पस प्रमुख हरिभक्त शाहीले मनोमानी रुपमा सञ्चालन गर्दै आएका थिए । 

शाही सञ्चालक समितिको पदेन सदस्यसचिव रहे पनि सञ्चालक समितिको बैठक डाक्न र सर्च कमिटी गठन गर्न अवरोध गर्दै आएका थिए । २०७७ देखि नै क्याम्पस प्रमुखको नियुक्तिका लागि सर्च कमिटी गठन गर्ने र प्रक्रिया अघि बढाउने प्रयास हुँदै आए पनि असफल बन्दै आएको थियो । 

पौडेलले पनि गत मंसिरदेखि सञ्चालक समितिको बैठक डाक्ने प्रयास गर्दै आएका थिए । क्याम्पस प्रमुख शाहीले अटेरी गरेपछि त्रिवि कार्यकारी परिषद्, तत्कालीन उपकुलपति केशरजंग बराललगायत पदाधिकारी र व्यवस्थापन संकाय डिन कार्यालयलेसमेत बैठक डाक्न हस्तक्षेप गरेको थियो । व्यवस्थापन संकाय डिन महानन्द चालिसेको उपस्थितिमा बसेको बैठकले सर्च कमिटी गठन गरेको थियो ।

कार्यकारी परिषद्ले बैठक बोलाउने निर्देशन अवज्ञा गरे निलम्बन गर्ने चेतावनी दिएपछि शाही तयार भएको एक पदाधिकारीले बताए । त्रिविका पूर्वउपकुलपति तीर्थराज खनियाँले शाहीलाई २०७३ कात्तिक ७ मा क्याम्पस प्रमुखमा नियुक्त गरेका थिए । सबैभन्दा कनिस्टबाट राजनीतिक भागबण्डाका आधारमा शाही नियुक्त भएको भन्दै क्याम्पसकै प्राध्यापकले त्यतिबेला प्रश्न उठाएका थिए । 

त्रिवि कानुनअनुसार उनको कार्यकाल २०७७ कात्तिक ७ मै पूरा भयो । तर पूर्वउपकुलपति धर्मकान्त बाँस्कोटाले अर्को व्यवस्था नभएसम्म भन्दै निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिएका थिए । त्रिवि नियममा क्याम्पस प्रमुखलगायत पदाधिकारीको पद रिक्त रहे बढीमा ३ महिनासम्मका लागि निमित्तको जिम्मेवारी दिन सकिने व्यवस्था छ । शाहीले भने नयाा क्याम्पस प्रमुख नियुक्तिमा अवरोध गर्न अनेक तिकडम गर्दै कार्यकाल ५ वर्ष लम्ब्याएको जनप्रशासन क्याम्पसका अध्यापकहरू बताउँछन् । 

नियम विपरीत क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेको बखत शाहीले आर्थिक लगायत परीक्षा र शैक्षिक कार्यक्रममा समेत अनियमतितता गरेको आरोप छ । क्याम्पस प्रमुख पदमा शाही गैरकानुनी रूपमा बहाल रहिरहेको विषयमा प्राध्यापक, कर्मचारी र विद्यार्थीले त्रिवि, शिक्षा मन्त्रालय, उपकुलपति कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रसम्म पटकपटक उजुरी दिएका थिए । 

शाहीले छोरा युनिटलाई परीक्षामा सहभागी गराएर परीक्षाको आचारसंहिता विपरित कार्य गर्दै आएको प्राध्यापकहरुको गुनासो छ । अवैध रुपमा क्याम्पस प्रमुख पदमा टिकिराख्न उनले कांग्रेस, एमाले र माओवादीका नेताका आफन्तलाई करार र ज्यालादारीमा नियुक्ति दिएको समेत खुलेको छ । क्याम्पसले कर्मचारी पदपूर्तिका लागि परीक्षा सञ्चालन गरेपनि नतिजा सार्वजनिक नगरि ८ जना नातागोतालाई जागिर दिएका हुन् । 

त्यस्तै विद्यार्थीबाट उठाएको शुल्क अनियमितता गरेको आरोप उनीमाथि लागेको छ । क्याम्पस प्रमुख शाही २०६३ सालमा नेविसंघको तर्फबाट सोहि क्याम्पसको स्ववियु अध्यक्ष समेत निर्वाचित भएका थिए । राजनीतिक पहुँचको आधारमा अवैध रुपमा उनी क्याम्पस प्रमुख पदमा टिकि राखेको आरोप छ ।

यो पनि

जनप्रशासन क्याम्पसमा ५ वर्षदेखि कानुनविपरीत क्याम्पस प्रमुख

कान्तिपुर संवाददाता

Link copied successfully